नेपालमा इन्टर्नसीपको अवसर दिन बंगलादेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको आग्रह

जेष्ठ १२, २०७७ | काठमाडौं

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन पूरा गरेका नेपाली विद्यार्थीले स्वदेशमै इन्टर्नसिप गर्न अनुमति माग गरेका छन् । झण्डै २ सय नेपाली विद्यार्थी परीक्षा सकेर नेपाल आएपछि कोरोना संक्रमणका कारण बंगलादेश फर्किन नपाएको भन्दै उनीहरुले नेपालमै इन्टर्नसिपको अनुमति प्रदान गर्न आग्रह गरेका छन् ।

 उनीहरुले सम्बन्धित निकायहरुमा निवेदन समेत हालेका छन् । १ सय ८३ नेपाली विद्यार्थीले संयुक्त निवेदन दिएको ढाका विश्वविद्यालयको एम एच सामोरिता मेडिकल कलेजबाट एमबिबिएसको पढाइ सकाएका जनकपुरका नवनित ठाकुरले बताउनुभयो । 

नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन र चिकित्सा शिक्षा आयोगमा निवेदन दिएको ठाकुरले जानकारी दिनुभयो । यसअघि सन् २०१८ मा नेपाली विद्यार्थी सहितको युएस बांगला एयरको जहाज दुर्घटना पछि विशेष परिस्थितिमा नेपाल मेडिकल काउन्सिलले बंगलादेशमा एमबिबिएस पढेका ३३ जना नेपाली विद्यार्थीलाई इन्टर्नसिपका लागी अनुमति दिएको थियो । 

यद्यपि, हाल चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययन सम्बन्धी निर्णयाधिकार राख्ने भएकाले सो विषयमा आयोगसँग छलफल भैरहेको नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. नारायण विक्रम थापाले बताउनुभयो । 

हाल महामारीको अवस्थामा नेपालमा अध्ययन गरेका विद्यार्थीको चिकित्सा सेवा ब्यवस्थापन नै चुनौती बनिरहेका बेला विदेशमा अध्ययन गरेका विद्यार्थी बारे ब्यवस्थापनमा समस्या रहेको समेत थापाले बताउनुभयो ।


प्रतिक्रिया