मुलुकभर १७ सुरक्षाकर्मीमा कोभिड संक्रमण

जेष्ठ १२, २०७७ | काठमाडौं

कोरोना भाइरस विरुद्ध सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी भन्दा सुरक्षाकर्मी बढी जोखिममा रहेको सुरक्षा विज्ञले औल्याएका छन् । देशभर १७ जना प्रहरी कर्मचारीमा कोभिड १९ पुष्टि भएको छ । 

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक रविन्द्रप्रसाद शर्माले सिमा सुरक्षादेखि क्वारेन्टिन र आईसालेशनको सुरक्षामा समेत सुरक्षाकर्मी रहने भएकाले उनीहरु उच्च जोखिममा रहेको बताउनुभयो । 

संक्रमितहरु जबरजस्ती सीमाबाट प्रवेश गर्ने, आइसोलेसन र क्वारेन्टिनमा बसेकाहरु भाग्दा नियन्त्रणका लागि प्रहरी नै परिचालित हुनु पर्ने बाध्यताले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको शर्माको भनाई थियो । हरेक जिल्लामा द्रुत सेवा दिन सक्ने छुट्टै क्विक रेस्पोन्स टिम बनाएर परिचालन गर्न सकिए पूरै प्रहरी संगठनलाई सुरक्षीत राख्न सकिने शर्माले सुझाव दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मात्र बारा र धनुषामा थप ४ जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै संक्रमित प्रहरीको संख्या १७ पुगेको छ । बारामा एक प्रहरी निरिक्षक र एक जवान तथा धनुषामा प्रहरी सहायक निरीक्षक र एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता अतिरिक्त प्रहरी महानिरीक्षक निरजबहादुर शाहीले कार्यक्षेत्रमा खटिएका प्रहरीहरुमा नै संक्रमण देखिएकाले संवेदनशिल बनाएको बताउनुभयो । कोभिड १९ संक्रमण रोकथामका लागि खटिएका सुरक्षाकर्मीका लागि कार्यादेश तयार गरी खटनको ब्यवस्था, पीपीई, मास्क उपलब्ध गराउने गरेको शाहीको भनाईछ ।


प्रतिक्रिया