"विद्यालय पुन: प्रयोगमा ल्याउने मापदण्ड खैं"

जेष्ठ १८, २०७७ | काठमाडौं

कोरोना भाइरस महामारीका कारण क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गरिएका विद्यालयलाई पुन प्रयोगमा ल्याउन उचित मापदण्ड आवश्यक रहेको सरोकारवालाले बताएका छन् । 

शिक्षाविद केदारभक्त माथेमाले हाल समुदायका लागि खाली रहेका भवन प्रयोग गर्नु उचित रहेपनि पुन: सञ्चालन मापदण्ड आवश्यक रहेको बताउनुभयो । क्वारेन्टिनमा प्रयोग सकिए लगत्तै विद्यालय प्रयोग गरिए घातक हुने माथेमाले बताउनुभयो । जिर्ण अवस्थामा रहेका विद्यालयका भवन प्रयोग गरी सकेपछि भवनमा केही सुधार सहित संक्रमण निर्मुलिकरण गरेर मात्रै प्रयोगमा ल्याउनु पर्ने माथेमाले बताउनुभयो । 

विद्यालयहरु बन्द रहेको तथा हरेक स्थानीय तहमा खाली भवन, विद्यालय मात्रै उपलब्ध भएका कारण पनि विद्यालय प्रयोगमा ल्याइएको हो । देशभर ३० देखि ३५ जिल्लाका ७ सय सामुदायिक विद्यालयलाई क्वारेन्टाईन स्थलका रुपमा प्रयोग गरिएको शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रका प्रवक्ता माधवप्रसाद दाहालले जानकारी दिनुभयो । विद्यालय पुन: सञ्चालनमा आउने समयका लागि मापदण्ड बनाउने तयारीमा मन्त्रालय रहेको दाहालले जानकारी दिनुभयो ।

पालुङटार नगरपालिका वडा नम्बर ७ को जिवनज्योती माध्यामिक विद्यालयलाई क्वारेन्टाइनमा प्रयोग गरिएकाले पुन प्रयोगका लागी स्थानिय निकाय मार्फत आग्रह गरेको विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद पाण्डेले बताउनुभयो । 

बालबालिकाको स्वास्थ्य जोखिम प्रति विद्यालय ब्यवस्थापन जिम्मेवार रहेपनि हाल पर्ख र हेरको अवस्थामा रहेको पाण्डेको भनाई छ । भुकम्प पछि पुन निर्माण भएको विद्यालय सुविधा सम्पन्न रहेकाले पनि समुदायलाई सहज हुने पाण्डेले बताउनुभयो । 


प्रतिक्रिया