काँकडभिट्टामा एक हजार भारतीय अलपत्र

तस्बिर : पर्वत पोर्तेल, रेडियो कान्तिपुर । 

जेष्ठ २१, २०७७ | काँकडभिट्टा

भारतको पश्चिम बंगाल सरकारले आफ्ना नागरिकलाई प्रवेशमा अवरोध गर्दा करिब एक हजार भारतीय नेपाल–भारतको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । उनीहरु निर्माणाधिन मितेरी पुल र मेची बगर क्षेत्रमा अलपत्र छन् । 

अलपत्र परेकाहरु अधिकांश नेपालका विभिन्न उद्योगमा कार्यरत श्रमिकहरु छन् । केही दिनदेखि झापाको काँकडभिट्टा बसपार्क क्षेत्रमा अलपत्र परेका उनीहरुलाई मेचीनगर नगरपालिका र स्थानीय प्रहरीको सहयोगमा आज बिहान दशगजामा लगेर छाडिएको हो । मेची नगर प्रमुख विमल आचार्यले क्वारेन्टाइनको अभावमा भारतले आफ्ना नागरिक बुझेर लगोस् भनेर दशगजामा लगेर छाडेको बताउनुभयो ।

दुई दिनअघि असम, सिक्किम, मणिपुर लगायत भारतको पूर्वोत्तर राज्य प्रतिनिधिले नेपालमा अलपत्र नागरिक बुझेर लगेका थिए । तर, पश्चिम बंगालले भने नेपालबाट आउने नागरिकलाई राख्ने क्वारेन्टाइनको पर्याप्त तयारी नभएको कारण देखाएर आफ्नै नागरिकलाई प्रवेशमा रोक लगाउदै आएको छ ।

इलाका प्रहरी कार्यालय कााकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले नाकामा भारतीयको भीड बढेको हुँदा समस्या भएको बताउदै करिब २० हजार भारतीय पूर्वी नाकाबाट भारत फर्किन चाहेको जानकारी दिनुभयो । डीएसपी पोख्रेलकाअनुसार, अधिकांश ईंटा कारखानामा काम गर्ने मजदुर छन् । 

पश्चिम बंगालको कोलकाताका प्रितम भोरले नाकामा अलपत्र परेको २४ घन्टा बित्न लाग्दा पनि भारत सरकारले उद्धार नगरेको बताउदै तत्काल उद्धार नभए चर्को घाम र भोकै मर्ने अवस्था आउने बताए । 


प्रतिक्रिया