सोतीमा भएको घटनाको निश्पक्ष छानविन गर्न संसदीय विशेष समिति गठन हुने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २३, २०७७ | काठमाडौं

– रुकुमपश्चिमको सोतीमा भएको घटनाको निश्पक्ष छानविन गर्न संसदीय विषेश समिति गठन हुने भएको छ । जारी संसद बैठकमा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको घटनामा निश्पक्ष छानविनको माग गर्दै सदनमा उठेर विरोध गरेपछि सभामुख अग्नी सापकोटाले घटनाको सत्यतथ्य छानविनका लागि विशेष संसदीय समिति बनाउने जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद सूरु हुनासाथ रुकुमपश्चिममा भएको जातीय विभेदको घटनामा सरकारको ध्यान जान नसकेको भन्दै आपत्ति जनाएको थियो । कांग्रेस सचेतक पुष्पा भुसालले बैठकको प्रारम्भमै समय लिदैं सरकारको पछिल्लो अभिव्यक्तिले घटनाको सत्यतथ्य छानविन हुनेमा आशंका उब्जिएको भन्दै तत्काल विशेष संसदीय समिति गठनको माग गर्नुभएको थियो ।

उहाँले घटनामाथि विभिन्न समयमा उठेका प्रश्नहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभयो । सचेतक भुसालले निर्मला पन्त हत्या प्रकरण जस्तै रुकुमपश्चिम घटनालाई पनि राजनीतिकरण गर्न खोजिएको भन्दै जघन्य अपराधलाई ढाकछोप गर्न खोजिए कांग्रेसले त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभयो ।  


प्रतिक्रिया