हातियार खोस्ने प्रयासमा प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु

जेष्ठ ३०, २०७७ | सर्लाही

भारतसंग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय र सशस्त्र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर एकजना भारतीयको मृत्यु भएको छ । अन्य दुइजना घाइते छन् ।

लकडाउनको उलंघन गर्दै झण्डै सत्तरी जनाको हाराहारीमा आएका भारतीयहरुले नेपाली सुरक्षाकर्मी माथी हातपात गर्न थालेपछि प्रहरीले भिड तितरवितर पार्न चलाएको गोली लागेर सितामढी जिल्ला पिपरा पञ्चायत जानकीनगरका विकेश कुमारको मृत्यु भएको छ । 

छातीमा गोली लागेका उनको उपचारको क्रममा मृत्यु भएको भारतीय अधिकारीले जनाएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिनुभयो । भारतीय उमेश रामको हातमा तथा उदय ठाकुरको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । झडपको क्रममा प्रहरी हवल्दारसहित तीन प्रहरी पनि गम्भीर घाइते भएका छन् । 

उनीहरुको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ । प्रहरी उपरीक्षक श्रेष्ठले डिउटीमा खटिएका सुरक्षाकर्मीलाई हातपात गरेर लखेट्न थालेको र हतियार पनि खोसेपछि बाध्य भएर गोली चलाउनु परेको बताउनुभयो । 

भारतीयको ज्यादती देखेपछि स्थानीय लाठी बोकेर प्रतिकारमा उत्रेको उहाँको भनाई थियो । श्रेष्ठले प्रहरीको हतियार खोस्ने भारतीय नागरिक नवलकिशोर राय प्रहरी नियन्त्रणमा रहेको जानकारी दिनुभयो ।  

सम्बिन्धत समाचार :

भारतीयले हतियार खोस्ने प्रयास गरेपछि सर्लाहीमा तनाब



प्रतिक्रिया