आज एकै दिन ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

असार १८, २०७७ | काठमाडौं

– पछिल्लो २४ घण्टामा मूलुकमा ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले योसंगै मूलुकमा कोरोनाबाट १४ हजार ५ सय १९ जना संक्रमित भइसकेको जानकारी दिनुभयो ।

२४ घण्टामा संक्रमुक्त भई ६ सय ६४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो । यस्तै सरकारले थप दुईवटा प्रयोगशालाबाट परीक्षण शुरु गरेको जनाएको छ । अब मूलुकका विभिन्न स्थानमा रहेका २५ वटा प्रयोगशालाबाट कोभिड १९ को नमूना परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म् सबैभन्दा धेरै प्रदेश दुईमा संक्रमण देखिएको छ । प्रदेश १ मा ६ सय ३६ , २ मा ३ हजार ९ सय ९ , बागमतीमा ५ सय ५ , गण्डकीमा १ हजार ८४, प्रदेश ५ मा ३ हजार ८ सय ५३ , कर्णालीमा १ हजार ५ सय १२ र सूदुरपश्चिममा ३ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लकडाउन सरकारको बाध्यता भन्दै प्रवक्ता गौतमले भरपुर सतर्कता अपनाउन आग्रह गर्नुभयो । सरकारले तोकेको मापदण्ड पुरा गरेर भौतिक दुरी कायम राख्न सके कोरो संक्रमण नियन्त्रण र रोकथाम गर्न सकिने उहाँको भनाई थियो ।

म्याग्दीको धौलागिरी नगरपालिका ४ का ४९ दिनका एक शिशुको उपचारका क्रममा आज काठमाण्डौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । लामो समयदेखि शिशुको स्वास्थ्यमा समस्या देखिएको थियो । योसंगै कोभिड १९ का कारण नेपालमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । 


प्रतिक्रिया