पोखरामा मृतकको संख्या ६ पुग्यो

असार २६, २०७७ | पोखरा

अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराका दुई स्थानमा ६ जनाको ज्यान गएको छ । 

कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पोखरा–१८ सराङकोट गोठादीमा अन्दाजी विहान साढे २ बजेतिर माथिबाट आएको पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ । मृतकमा घरधनी ५० वर्षीय टंकबहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा, टंकबहादुरको दाईको नाती ६ वर्षीय सुवान थापा र ११ वर्षकी इशीका थापा रहेको प्रहरीले जनाएको छ । अर्का एक बालकको सनाखत हुन नसकेको हमालले बताउनुभयो । 

पहिरोमा पुरिएर टंकबहादुरकी छोरीहरु २२ वर्षीया पिंकी र १८ वर्षकी आशा थापामगर, पिंकीकी ५ वर्षीया छोरी पिरीशा थापामगर घाइते भएका छन । 

यसैगरी तनहुँको दमौली घर भएकी मृतक सोममाया थापाको बहिनी २८ वर्षीया सरस्वती श्रेष्ठ पनि घाइते भएकी छन । उनका १० र ८ वर्षका दुई छोरा पनि पहिरोमा परेका छन । उनीहरुमध्ये एकको मृत्यु भएको तर सनाखत नभएको हमालले बताउनुभयो ।  

यसैगरी छिमेकी १९ वर्षीय अनिश तामाङ, रशी थापा, रश्मी थापामगर पनि घाइते भएका छन । घाइतेको मनिपाल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ । थापाको घरमा जन्मदिनको पार्टी रहेकाले आफन्त र छिमेकी जम्मा भएका थिए ।

यसैगरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हेमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तीन बाख्रा पनि पुरिएका छन ।


प्रतिक्रिया