म्याग्दी पहिरो अपडेट :११ जनाको शव फेला पऱ्यो, २३ अझै बेपत्ता

असार २७, २०७७ | म्याग्दी

अविरल भारी वर्षापछि हिजो विहान दुई बजे आएको पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला परेको छ । २३ जना अझै बेपत्ता छन ।

धौलागिरी गाउँपालिका, ६ मराङका वडाध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गापाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको हो ।

पहिरोमा मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी वस्तीमा अझै ११ जना, ताकममा ३ जना र मालिका गापा, ७ विमको दुलेमा विष्णु शर्मा र इच्छा पौडेल समेत ८ जना गरी २३ जना अझै वेपत्ता छन ।

जिल्ला प्रहरी प्रमुख डिएसपी किरण कुँवरका अनुसार शुक्रवार मालिका गाउँपालिका केन्द्र दरवाङ पुगेको प्रहरी तथा सेनाको उद्धार टोली शनिवार विहान घट्नास्थल तर्फ पैदल हिँडेको छ । प्रहरीका अनुसार तल्लो क्षेत्रको मौषम केही सुधार भएकोले केही राहत सामाग्री लिएर सेनाको हेलिकोप्टर पनि उड्ने तयारीमा छ ।

बाढीपहिरोले ४३ घर परिएका छन । पहिरोमा के कति पशुचौपाया र धनसम्पत्तिको क्षति भयो यकिन विवरण संकलन भएको छैन ।

धौलागिरी गाउँपालिका, ६ मराङका वडाध्यक्ष राजाराम सुवेदीका अनुसार पहिरोमा परि अलपत्र परेका मध्य कल्लेनी क्षेत्रका ६० जनालाई छिमेकी ताकमको सिवाङमा, मराङ क्षेत्रका २ सय जनालाई राम्चेस्थित दलित सामुदायीक भवनमा र घन्टीवाङ, अर्वाङ क्षेत्रका १ सय ५० जनालाई जनविकास आधारभुत विद्यालयमा राखिएको छ । उनीहरुलाई स्थानीय आमा समुह, युवा क्लवले खाना खुवाएका छन । घट्नास्थलमा कुनै राहत पुग्न सकेको छैन ।


प्रतिक्रिया