५ दिनपछि पृथ्वी राजमार्गमा डाइभर्सन तयार, सिद्धार्थ र नारायणगढ-मुग्लिन फेरि अवरुद्ध

 तस्बिर : हरिहरसिंह राठौर, धादङि ।

श्रावण ९, २०७७ | काठमाडौं

पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवनको सीमामा रहेको मौवाखोलामा डाइभर्सन बनाएपछि आजदेखि साना गाडी र मोटरसाइकलहरु चल्न थालेका छन् ।

५ दिनअघि आएको बाढीपहिरोले पुल भत्केपछि यातायात ठप्प थियो । बाढीले धादिङतर्फ पुलको ढलानसँग जोडिएको करिब ५ मिटर सडक बगाएको थियो । पुलको विकल्पमा तत्कालका लागि ग्याबिन र ढुंगा माटो भरेर साना सवारी साधन र मोटरसाइकल पास गराइएको धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । 

आज साँझसम्म ठूला गाडीहरु पनि एकतर्फी रुपमा सञ्चालन हुनेगरी सडक मर्मत भइरहेको उहाँको भनाई छ । बाढीले पुल भत्काएपछि काठमाडौं आउने प्रमुख मार्ग नै अवरुद्ध थियो ।  

नारायण-मुग्लिन सडक पुन अवरुद्ध

यसैबीच, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पुन पहिरो झरेपछि यातायात आवागमन ठप्प भएको छ । 

हिजो खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी सञ्चालन भएको केही समयमा नै पुन: सोही स्थानमा पहिरो खसेको हो । पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

सिद्धार्थ राजमार्ग फेरि अवरुद्ध

अविरल बर्षासंगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग पुन: अवरुद्ध भएको छ । बुधबारदेखि एकतर्फी खुलेको राजमार्ग गएराति पहिरो खसेपछि अवरुद्ध भएको थियो । सुरक्षाकर्मीको पहलमा आज बिहानबाट सडक सञ्चालन गरिएपनि पुन: पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । 

राजमार्गको पाल्पा–बुटवल खण्डको दोभान, सिद्धबाबा, गौडेपुल लगायतका स्थानमा पहिरो खसेको प्रहरी नायव उपरीक्षक मदन गिरीले बताउनुभयो । पहिरो खस्ने र पन्छाउने क्रम जारी रहेको उहाँले बताउनुभयो । नागमन्दिर, पैठेडाँडामा खसेको पहिरो हटाएपछि दोभानको सिद्धबाबा क्षेत्रमा भने यातायात एकतर्फी सञ्चालनमा आएको छ । 

गौडे पुल नजिक खसेको पहिरो भने पन्छाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । तानसेनदेखि लामीडाँडासम्म, हार्थोको सम्मोबारी, जोगेपानीमा पनि सडक एकतर्फी खुलेको छ । सडक चौडा गर्दा खसेको पहिरो नहटाएकाले दोहोरो यातायात संचालन गर्न कठिनाई भएको ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले बताउनुभयो ।

सिद्धार्थ राजमार्गबाट रम्भा गाउँपालिका केन्द्रमा जाने सडकको लसुनेमा पनि ठूलो पहिरो खसेर एक सातादेखि सडक अवरुद्ध छ । हुमीनबाट पूर्वखोला गाउँपालिका केन्द्र जाने सडक नै बगाएपछि अवरुद्ध बनेको सडक एक सातादेखि बन्द छ । रामपुरबाट नवलपरासी जोड्ने कालीगण्डकी करिडोरका दर्जन बढी स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।


प्रतिक्रिया