फेवातालको सिल्ट्रेशन ड्याम भत्कियो

श्रावण १५, २०७७ | पोखरा

पोखरा महानगरपालिका–२३ खहरे खोलामा निर्माण गरिएको सिल्ट्रेशन ड्याम २ महिना नपुग्दै भत्किएको छ । फेवाताल संरक्षण अभियान अन्तर्गत पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा पोखरा–२३ खहरे खोलामा निर्माण गरिएको सिल्ट्रेशन ड्याम भत्किएको हो । यसले ड्यामको गुणस्तरमा प्रश्नचिन्ह उठेको छ । 

जलाधार क्षेत्रबाट वर्षेनी बगेर आउने गेग्रान (सिल्ट) का कारण फेवाताल पुरिँदै गएको भन्दै त्यसलाई रोक्न ड्याम बनाइएको थियो । तर, केही दिनयता खहरे खोलाको मुख्य सिल्ट्रेशन ड्याम भत्किंदै गएको पोखरा महानगरपालिका–२३ का वडा सदस्य भरत भण्डारीले बताउनुभयो ।

‘हामीले ड्याम गुणस्तर भएन भन्दै यसअघिनै वडा, महानगर र ठेकेदार समक्ष पनि डेलिगेशन गएका थियौं’ भण्डारीले भन्नुभयो, ‘सुनुवाई भएन अहिले परिणाम देखिइसक्यो ।’ उहाँका अनुसार पानी निकास हुने ड्यामको २० मिटर जति पर्खाल अगाडिको ढुंगाको लाइन र भित्र बिछ्याइएको ढुंगा बगिसकेको छ । सिमेन्ट कम र बालुवा भनेर पाँगो माटो राखेकाले यस्तो भएको उहाँको भनाइ छ ।

सो क्षेत्रमा महानगरबाट खटाइएका सुपरभाइजर श्रीराम भण्डारीका अनुसार पानी खस्ने बाँधको एक मिटरसम्म ह्वांग भएकाले कुनैपनि बेला सबै बग्ने अवस्था छ । महानगरका इन्जिनियर विमल आचार्यले सिल्ट्रेशन ड्याममा केही भाग प्वाल परेको खबर आएको तर नहेरेसम्म भन्न नसकिने अवस्था रहेको बताउनुभयो । ‘आयोजना बन्ने समय आगामी जनवरी १ सम्म हो । निर्माण सम्पन्न भए पनि ठेकेदारबाट हस्तान्तरण भइसकेको छैन’ उहाँले भन्नुभयो, ‘ठेकेदारसँग कुराकानी भइरहेको छ । उसले फेरि बनाएर हस्तान्तरण गर्नेछ ।’

सो ड्याम खड्का कृष्ण पिके जेभीले बनाएको हो । फेवातालको मुख्यस्रोत हर्पन खोलाको घाँटीछिना, बेतयानी खोलामा दुई ठाउँ, लौरुक खोला र अँधेरी खोलामा चेक ड्याम र सिल्ट पोखरी निर्माण भएको हो । 

यी खोला र खहरे खोलाबाट वर्षेनी लाखौं घनमिटर ढुंगामाटो, गिटी, बालुवा लगायत वस्तु फेवातालमा आउने विभिन्न अध्ययनले देखाएपछि ती वस्तु तालमा आउनबाट रोक्ने उद्देश्यसाथ बाँध र पोखरी बनाइएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरको बराबर बजेटमा काम भएको हो । चार खोलाको ५ ठाउँमा बन्ने बाँध र पोखरीका लागि २८ करोड ९६ लाख रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएर काम भएको थियो । 

एक वर्षको अवधिमा निर्माण सक्नुपर्ने भएपनि ठेकेदारले झन्डै ६ महिनामा काम सकेका थिए । हतारको कामले पनि गुणस्तर हुन नसकेको स्थानीयको भनाइ छ । महानगरका वरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले शुक्रबार अनुगमन गरेर मात्र सबै कुरा भन्न सकिने बताउनुभयो । 

ड्याम र पोखरी बनेपछि अब सबै सिल्ट रोकिने र गेग्रानलाई प्रत्येक साता निकालेर निर्माण सामग्रीको रुपमा महानगरलेनै बेच्ने योजना थियो । केही समय अघिमात्र घाँटीछिनास्थित फेवातालको मुख्य स्रोत हर्पन खोलामा निर्मित चेक ड्याम पनि भत्केको थियो । 


प्रतिक्रिया