सरकारको एक्लो प्रयासले मात्रै कोरोना संक्रमण नियन्त्रण गर्न सकिन्न : प्रधानमन्त्री

श्रावण २०, २०७७ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना संक्रमण नियन्त्रण गर्न नसकिने बताउनुभएको छ । काठमाडौंको वालुवाटारस्थित प्रधानमन्त्री निवासमा जनस्वास्थ्य विज्ञ र विभिन्न राजनीतिक दलका नेतासँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन आग्रह पनि गर्नुभयो । प्रधानमन्त्रीले परामर्श बैठकमा भनेको कुरा उल्लेख गर्दै उहाँका सञ्चार विज्ञ रामशरण बजगाईंले कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र नपुग्ने भएकाले जनतामा चेतना जति बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुने बताउनुभयो । उहाँले जनतामा हुने असन्तुष्टि र आक्रोशलाई आफूले स्वाभाविक रुपमा लिने बताउँदै फरक आस्था र विश्वासकै कारण राम्रो कामको पनि विरोध गर्ने प्रवृत्तिसँग भने सजग रहनु पर्ने बताउनुभयो ।

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि लकडाउन गर्ने/नगर्ने बारे समुदायमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय लिन सुझाव दिनुभएको बजगाईंले जानकारी दिनुभयो । देउवाले बैठकमा हरेकलाई भौतिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्न सुझाव दिनुभयो । सरकारले गरेका स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्न पनि देउवाले माग गर्नुभयो ।

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखेर सरकारले बढीभन्दा बढी परिक्षण गर्नु पर्ने बताउनुभयो । उहाँले कोरोना संक्रमितलाई राख्नको लागि आइसोलेसन र क्वारेन्टीनहरु व्यवस्थित गर्न र अस्पतालको क्षमता बढाउन पनि सुझाव दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले सरकारले प्रतिदिन १८ हजार जनाको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरेको र हालसम्म ४ लाखको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका सहित तराई क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री ओलीले छलफल गर्न स्वास्थ्य क्षेत्रका विज्ञलाई बोलाउनुभएको हो । उहाँले यसअघि गत जेठ २१ गते पनि स्वास्थ्य क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो । 


प्रतिक्रिया