अष्ट्रेलियामा नेपाली विद्यार्थीको आवेदन ६० प्रतिशतले घट्यो

श्रावण २५, २०७७ | अष्ट्रेलिया

अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने विदेशी विद्यार्थीको संख्यामा गत वर्षको तुलनामा एक तिहाई बढीले कमी आएको छ । गतवर्षको तुलनामा यसवर्ष नेपालबाट उच्च शिक्षाका लागि आवेदन दिने विद्यार्थीको संख्यामा भने ६० प्रतिशतभन्दा बढीले घटेको छ । 

हालै सार्वजनिक तथ्यांक अनुसार गत वर्षको तुलनामा अष्ट्रेलियामा अध्ययन गर्न आउन चाहने विदेशी विद्यार्थीको आवेदनमा ३३ दशमलव ५ प्रतिशतले कमी आएको हो । उच्च शिक्षा अध्ययनका लागि आवेदन नदिने विदेशी विद्यार्थीको संख्यामा अन्य देशको तुलनामा नेपालको संख्या सबैभन्दा उच्च रहेको छ । 

अष्ट्रेलियामा अध्ययनका लागि आउन चाहने नेपाली विद्यार्थीको संख्या पहिलेको तुलनामा करीब ६१ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । यसैगरी चीनबाट आवेदन दिनेको संख्यामा २० प्रतिशत कमी आएको छ भने भारतीय विद्यार्थी संख्यामा समेत ४७ प्रतिशतले कमी आएको छ । 

अस्ट्रेलियामा रहेका विद्यार्थीले दिने आवेदनको संख्यामा भने गत वर्षको भन्दा १० प्रतिशतले वृद्धि भएको छ । जसमा यहाँका विभिन्न राज्यमा रहेका ३६ प्रतिशत नेपाली विद्यार्थीले भिसाका लागि आवेदन दिएका छन् ।

इन्टरनेसनल एजुकेसन एसोसिएसनले केही दिन पहिले आयोजना गरेको एक कार्यक्रममा गृह मामिला विभागका विद्यार्थी भिषा तथा ग्राजुएट निर्देशक म्याथ्यु नोबलले यात्रामा लगाइएको प्रतिबन्धका कारण यो अवस्था सृजना भएको बताएका छन् । शिक्षा विज्ञहरुले कोरोना भाइरसका कारण सिर्जित यस समस्याका कारण आउँदो दुई वर्षसम्म अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनका लागि आउने क्रममा असर पर्ने बताएका छन् । 

सरकारले हालै अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिषा आवेदन खुला गर्ने गरेको निर्णयलाई यहाँका कलेज तथा विश्वविद्यालयले स्वागत गरेको भएपनि यो समस्या लामो समयसम्म रहने विज्ञहरुले दाबी गरेका छन् । वुलङ्गन युनिभर्सिटीका निमित्त चान्सलर प्रोफेसर एलेक्स फ्रिनोले सरकारले बाहिरबाट आवेदन बन्द गर्ने निर्णय गरेका कारण यो समस्या सृजना भएको बताएका छन् ।

स्थानीय समाचार माध्यमका अनुसार अष्ट्रेलियाको प्राविधिक शिक्षा तथा साना कलेजमा अध्ययन गर्न आउन चाहने विद्यार्थीको संख्या भविष्यमा धेरै बढ्ने भएको छ । जसमा नेपाल तथा भारत लगायत विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । नेपाली शैक्षिक परामर्शदाता अर्जुन थपलिया कोरोना भाइरसको अवस्था सामान्य हुने बित्तिकै नेपाली विद्यार्थीको संख्या अष्ट्रेलियामा बढ्ने दाबी गर्छन् । उनी अष्ट्रेलियाको चीनसँगको बिग्रँदो सम्बन्ध, विदेशी विद्यार्थी यहाँको अर्थतन्त्रको मुख्य स्रोत हुनु र प्राविधिक शिक्षाका लागि विदेशी विद्यार्थी नै मुख्य ग्राहक भएका कारण समेत वर्तमान अवस्था सहज भएपछि नेपालबाट आउने विद्यार्थीको संख्या धेरै बढ्ने दाबी गर्छन् ।

कोरोना भाइरसको संक्रमण बढेसँगै अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि विदेशी विद्यार्थी अध्ययनका लागि यहाँ आउन पाएका छैनन् । अर्का नेपाली परामर्शदाता संजीव पाण्डे मुख्य गरेर विदेशी विद्यार्थी आउने समयमा भाइरसको समस्या सृजना भएकाले यो संख्या कम भएको भएको हुन सक्ने बताँउछन् । उनी अहिले अन्तर्राष्ट्रिय उडानहरु प्राय: सबै बन्द भएकाले समेत विद्यार्थीको भिसा आवेदनमा कमी आएको सुनाउँछन् ।

अष्ट्रेलिया सरकारले बन्द गरिएको अन्तर्राष्ट्रिय उडान कहिलेदेखि सञ्चालन गर्ने निर्णय गरिसकेको छैन भने यहीं रहेका विदेशी विद्यार्थीलाई समेत अनलाईन अध्ययनका लागि प्रेरित गरिरहेको छ । विगत लामो समयदेखि विदेशी विद्यार्थी अष्ट्रेलियाको अर्थतन्त्रको मुख्य स्रोत बन्दै आएका छन् । अष्ट्रेलियाको अर्थतन्त्रमा विदेशी विद्यार्थीले गत आर्थिक वर्षमा मात्र करीब ३७ अर्ब डलर बराबरको योगदान पुर्‍याएको सरकारी तथ्यांक छ । 


प्रतिक्रिया