लिदी पहिरो : १६ को सनाखत, बेपत्ताको खोजी जारी

श्रावण ३१, २०७७

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदी लामागाउँमा पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये १६ जनाको शव फेला परेको छ । हिजो बिहान खसेको पहिरोमा लिदीका १३ वटा घर पुरिएका थिए । १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । जिल्ला प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा नौ बालबालिका, चार महिला र बाँकी पुरुष छन् ।

प्रहरीको तंथ्याक अनुरुप लिदी लामा गाउँकी ३६ वर्षीया टीका माया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया दावाल्हामु दोङ, ५ वर्षीया प्रिति दोङको शव भेटिएको हो । यस्तै, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाकी रेमीश दोङ, १६ वर्षीय माईला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षीया च्यामा दोङ, ७ वर्षीया विमला दोङ, ७ महिनाका कबिर दोङको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकहरुको बौद्ध परम्परा अनुसार सामूहिक रुपमा अन्येष्टि गरिएको छ । पहिरोले सडक बगाएपछि एक्साभेटर लैजान सम्भव नभएकाले सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीका गरी ५५ जनाको टोलीले बेपत्ता २३ जनाको खोजी गरिरहेको डीएसपी काफ्लेले जानकारी दिनुभयो । 


प्रतिक्रिया