बाग्लुङ पहिरोमा परेर मृत्यु हुनेको संख्या ८ पुग्यो

भाद्र १८, २०७७ | बाग्लुङ

बाग्लुङको ढोरपाटनमा खसेको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । १३ जना बेपत्ता भएका छन । ४ जनाको घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । 

राती करिब १ बजेतिर खसेको पहिरोले ढोरपाटन ९ भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटमा पहिरो खसेको हो । मृतकमध्ये ढोरपाटन ९ भट्टेचौरकी २६ बर्षीया केशमाया बिक वाहेक अन्यको सनाखत हुन नसकेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । 

पहिरोमा पुरिएर स्थानीय कौशिला पुन, उनका छोरा ६ बर्षीय हिक्मत, जीतबहादुर घर्ती, राजु घर्ती, कुमारी विक, पुतली विक, करमती घर्ती, रिना घर्ती तथा दिलमाया घर्ती र उनका ६ बर्षको छोरा वेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै ५५ वर्षीया डोटी पुन, ५२ बर्षीया टुलमती पुन, बागलुङकै गलकोट नगरपालिका ४ घर भइ घुम्न पुगेका २५ बर्षका नविन भण्डारी पनि वेपत्ता छन ।

पहिरोले ढोरपाटन नगरपालिका–९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन लगायत स्थानीय १३ वटा घर पूर्णरूपमा बगाएको छ ।

पहिरो खोलामा मिसिएपछि आएको बाढीले सडक समेत क्षतविक्षत बनाएको छ । बिहान साँढे सात बजे मात्र प्रहरीको टोली घटनास्थल पुगेपछि उद्दारकार्य सुरु गरिएको छ । उनीहरुको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना समेत घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

पानी परिरहेको र मौसम परिवर्तन भैरहने भएकोले उद्दारमा कठिनाइ भएको छ । सो क्षेत्रका अन्य गाउँमा पनि सानाठूला पहिरो खसिरहेकाले क्षती बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम देखि १ सय ३० किलोमिटर पश्चिममा पर्छ ।


प्रतिक्रिया