हराएको भनिएको ११ नम्बर सिमा स्तम्भ भेटियो

आश्विन ८, २०७७ | हुम्ला

नेपालसंग सिमा जोडिएको उत्तरी छिमेकी मुलुका चीन र नेपालको बीचको सिमानामा राखेको ११ नम्बरको सिमा स्तम्भ फेला परेको छ । नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा स्थलगत अध्ययन गर्न गएको प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले हिजो सो सिमा स्तम्भ फेला पारेको हो ।

सिमा स्तम्भ नाम्खा गाउँपालिका ६ मानेपेमेको टुप्पोमा रहेको टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उदृत गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब पाँच हजार दुई सय मिटर उचाइमा भेटिएको हो ।

चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सिमा स्तम्भ राखेको ५८ वर्षपछि फेला परेको अध्यक्ष लामाले बताउनुभयो । यद्यपी प्रमुख जिल्ला अधिकारी जिल्ला नफर्किदा सम्म यस बिषयमा केही भन्न नसकिने स्थानीय प्रशासनले जनाएको छ ।

बिगत ५ बर्षदेखि ११ नम्बर सिमास्तम्भ हराएकाले नेपाल चीनबीच विवाद देखिएको ठहर गर्दै सरकारले त्यसको खोजिका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाएको थियो । चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी, नाम्खा गाउँपालिकाका प्रतिनिधि र केही स्थानीयहरुको अथक प्रयासमा तीन दिनको खोजविनले हराएको पिल्लर फेला परेको अध्यक्ष लामाले बताउनुभयो ।

हराएको ११ नम्बर पिल्लर सिमा प्रहरी चौकी हिल्सादेखि ७ घण्टाको पैदल दूरीमा फेला परेको खोजीमा संलग्न एक सुरक्षाकर्मीले बताए । खोज्दैंजाँदा टाकुले लेकको खोँचमा हिउँसँगै दबेर रहेको अवस्थामा सिमास्तम्भ फेला परेको हो ।

लोलुङजोङमा चीनियाँ अधिकारीसँगको वार्ता सफल नभएपनि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली सिमास्तम्म खोज्न सफल भएको हो ।

यसैबीच, नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको बिषयलाई लिएर गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालसँग चौबीस घण्टे स्पष्टिकरण मागेको छ ।

जनप्रतिनिधिहसँग लाप्चामा पुगेर केही साताअघि फर्किएका सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेका थिए ।

यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा सुरक्षा समितिको टोलीलाई यसबारेमा सत्यतत्थ्य बुझ्न र सिमा स्तम्भको बारेमा अनुगमन गर्न लाप्चा खटाएको थियो । प्रजिअको टोली स्थलगत भ्रमणबाट फर्किसकेको छैन ।

घटनास्थलको बास्तविकता बाहिर नआउँदै सरकारले सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधेको छ । प्रजिअको टोली जिल्लामा आई नपुग्दै सहायक प्रजिअ हमाललाई छोटो अवधिको समय दिएर स्पष्टिकरण सोध्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।

सरकारले चीनसँगको सीमामा कुनै विवाद नभएको स्पष्टीकरण बुधबार दिइसकेको छ । स्थानीय भने परापूर्वकाल देखि हामीले भोग चलन गर्दै आएको भुभाग कसरी चीनको हुनसक्छ भनेर प्रश्न गरिरहेको नाम्खा ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ बताउँछन् ।


प्रतिक्रिया