नेपाली यू-१९ महिला क्रिकेट टोली आज स्वदेश फर्किंदै

कार्तिक २९, २०८१ | काठमाडौं

आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको नेपाली टोली आज स्वदेश फर्किंदै छ । यू–१९ नेपाली महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो । 

पूजा महतोको कम्पनीमा रहेको नेपालले एसिया छनोटको आफ्नो अन्तिम खेलमा आयोजक संयुक्त अरब इमिरेट्स यूएईलाई ८ विकेटले हराउँदै विश्वपकमा छनोट भएको हो । यससँगै आगामी वर्ष मलेसियानमा हुने यू–१९ महिला विश्वकप खल्ने सबै १६ टोलीको टुङ्गो लागेको छ । 

डबल राउन्ड रोविनको पहिलो खेलमा यूएईसँग १३ रनले पराजित नेपालले सो हारको बदला लिँदै विश्वकपमा स्थान बनाएको हो । नेपालको महिला टोली कुनै पनि विश्वकपमा छनोट भएको यो पहिलो पटक हो । 

अजमानस्थित द सेभेन स्टेडियमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको सामान्य योगफल तयार पारेको थियो । नेपालले १४ ओभर ४ बलमा लक्ष्य पूरा गर्दै खेल ८ विकेटले जितेको हो ।

ओपनर सावित्री धामी ९ बलमा १ चौका प्रहार गर्दै १२ र कप्तान पुजा महतो १८ बलमा ४ चौका प्रहार गर्दै २१ रनमा आउट भइन् । साना प्रविण ३५ र सोनी पाख्रिन १३ रन बनाइ अविजित रहिन् । सानाले विजयी चौका प्रहार गरेकी थिइन् । 

कृष्मा गुरुङले सानदार बलिङ गर्दै नेपालको जितको आधार पारेकी थिइन् । उनले ४ ओभरमा १७ रनमात्र खर्चेर ४ विकेट लिइन् । रिया शर्मा र सीमा केसीले २÷२ तथा रचनाकुमारी चौधरीले १ विकेट लिइन् । 

डबल राउन्ड रोविन लिगमा आयोजित प्रतियोगिताको अन्तिम यस खेल अघि यूएईले सबै ५ खेल जितेको थियो भने नेपालले ५ मध्येको चार खेल जितेको थियो । यूएईसँगको यसअघिको खेलमा नेपाल पराजित भएको थियो । 

आईसीसी यू–१९ महिला टी–२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ । सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलित समूह ’डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । 


प्रतिक्रिया