शिखर धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने

कार्तिक २९, २०८१ | काठमाडौं

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएलका लागि भारतका क्रिकेटर शिखर धवनलाई अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले भारतीय क्रिकेटर धवनलाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको हो । 

सम्झौतामा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र क्रिकेटर धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ । धवनले भारतबाट टेस्ट, टी–२० आई र ओडीआई गरी तीनै फरम्यार्टमा प्रतिनिधित्व गरिसकेका छन् । धवनले एनपीएल खेल्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । 

३८ वर्षीय बायाँ हाते ओपनर धवनले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । 

उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए । त्यस्तै, भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन् । प्रतियोगिता आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ । 

टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । त्यस्तै टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । 


प्रतिक्रिया