देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने
कार्तिक २९, २०८१ | तनहुँ
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । व्यास–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो ।
छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन आगामी मंसिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रुपमा बन्द गर्न लागिएको मुग्लिन पोखरा सडक योजना पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सो अवधिमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिने उहाँले बताउनुभयो । बिहान १ बजेदेखि साढे १ बजेसम्म सडक आवागमन खुल्ला गरिने र पुनःदोस्रो चरणमा साढे १ बाट बिहान ४ बजेसम्म सडक बन्द गरी निर्माणकार्य गरिने पाण्डेले जानकारी दिनुभयो ।
आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी आवतजावत गराइने उहाँले बताउनुभयो । मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत पूर्वीखण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । आयोजनाका अनुसार पूर्वीखण्ड अन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् ।
यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएको छ । पूर्वीखण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।