लामिछानेलाई भैरहवा पुर्याइयो
कार्तिक २७, २०८१
पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट भैरहवा पुर्याइएको हो । रुपन्देही प्रहरीका अनुसार लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगिएको छ ।
रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरका अनुसार सकेसम्म आजै लामिछानेको बयान सक्ने तयारी छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ । लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालते प्रहरीलाई अनुमति दिएको छ ।
तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो । त्यहीअनुसार कात्तिक २ गतेदेखि एकै प्रकृतिको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज बयानका लागि भैरहवा लगिएको हो ।