केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता छ : प्रधानमन्त्री ओली

मंसिर ८, २०७७ | ताप्लेजुङ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगती हेरेर तर्सिएका केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता रहेको बताउनु भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको घुन्सा पुगेका ओलीले स्थानीयलाई सम्बोधन गर्दै भन्नुभयो – सरकार चलाइरहेको पार्टी भित्र अनेक प्रकारका कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, कहिले छापेर सरकार ढली हाल्छ भनेर प्रचार गरेको पाइन्छ, उनीहरु देशमा स्थिरता आउला भनेर आक्तिएका छन् ।

सरकार नढल्ने प्रष्ट पार्दै ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन यो सरकारले फिर्ता ल्याउछ र लोकप्रियता बढ्छ भनेर आक्तिएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले देशलाई गलत बाटोमा जान नदिने बताउनुभयो ।

पूर्व क्षेत्रको भ्रमणमा निस्किएका ओलीले घुन्सा फाउडेसन भवनको उद्धघाटन गर्नु भएको थियो । प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा र ग्याब्लाका १० जना बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गर्नुभयो । यस्तै घुन्सा आधारभुत विद्यालयलाई ५ लाख रुपैंयाँ प्रदान गर्नुभयो । सो रकमबाट प्रत्येक वर्ष १० जनालाई छात्रवृत्ति प्रदान गर्न विद्यालयलाई आग्रह गर्नुभयो । 

ओलीले स्थानीयका हरेक माग सरकारले पुरा गर्ने बताउनुभयो । हेलिकप्टरमा काठमाण्डौंबाट सिधै घुन्सा गएका ओलीले राडी, पाखि र गलैंचा बुनाइको अवलोकन गर्नु भएको थियो । ओलीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई, १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राई रहेका छन् । घुन्सामा जिल्ला सदरमुकाम फुङलिङवाट पूर्व सांसद, प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उप–प्रमुख, पार्टी कार्यकर्ता लगायतको टोली पुगेको छ । प्रधानमन्त्री सँगै गएकी पत्नी राधिका शाक्यले घुन्साका बासिन्दालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।

घुन्साको कार्यक्रमपछि प्रधानमन्त्री नेतृत्वको टोली ओलाङचुङगोला र इलामको जौवारी जाने कार्यक्रम छ । 


प्रतिक्रिया