प्राधिकरण विभाजन सम्बन्धी विधेयक संसदमा पेश हुँदै

फाल्गुन १३, २०८१ | काठमाडौं

सरकारले नागरिक उड्डयन प्राधिकरण विभाजन सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले प्राधिकरणलाई हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न बनेको विधयेक प्रतिनिधिसभाको आजको बैठकमा पेश गर्न लाग्नु भएको हो । 

पर्यटन मन्त्री पाण्डेले आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

यसअघि प्राधिकरण विभाजन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेस नभई निष्क्रिय भएको थियो । ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले २०७६ फागुन ११ गते राष्ट्रिय सभामा दर्ता गराउनु भएको थियो । २०७८ साउन १८ गते राष्ट्रिय सभाबाट पारित सो विधेयक २०७९ असोज १ मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको थियो ।

यस्तै, आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पति भएको ‘आमसञ्चार परिषद विधयेक २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ । 


प्रतिक्रिया