संसदमा पुग्यो पूर्व राजा शाहको पछिल्लो अभिव्यक्तिको तरंग

फाल्गुन ११, २०८१ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा निम्तिएको तरंग संघीय संसदमा समेत प्रवेश गरेको छ ।

 संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा बोल्दै सांसद एवम् गणतन्त्रवादी नेता वामदेव गौतमले पूर्व राजाको अभिव्यक्तिमा आपत्ति जनाउनुभयो । सत्तामा आउने चाहना भए पार्टी खोलेर चुनावमा भाग लिन गौतमले पूर्वराजालाई आग्रह समेत गर्नुभयो ।

राजतन्त्रवादी शक्ति र नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा पूर्व राजा शाहको अभिव्यक्तिमा समर्थन जनाएका बेला गणतन्त्रबादी नेताले भने प्रतिवाद गरिरहेका छन् । नेता गौतमले फेरि राजा बन्ने चाहना नराख्न पूर्व राजालाई सुझाव दिनुभयो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसदले पनि पूर्वराजालाई चुनाव लड्न चुनौती दिएका छन् । सांसद इश्वरीदेवी न्यौपानेले २०८४ को चुनावमा प्रतिस्पर्धा गर्न पूर्वराजा शाहलाई चुनौती दिनुभयो ।

राजतन्त्रवादी पार्टी राप्रपाले भने पूर्वराजाको अभिव्यक्तिको समर्थन संसदभित्रैबाट गरेको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रको विरोध गर्नु लोकतन्त्रको विरोध नहुने बताउनुभयो ।

वर्तमान व्यवस्थामाथि चर्को आलोचना गर्दै पूर्व राजा शाहले दिएको अभिव्यक्तिको दलका नेताहरुले प्रतिवाद गरेका छन् भने राजतन्त्रवादी दलले व्यवस्थाको विरोध गर्न पाइने भन्दै सो अभिव्यक्तिको बचाउ गर्दै आएको छ । 


प्रतिक्रिया