कक्षा १२ को परीक्षा शुरु

मंसिर ९, २०७७ | काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आजबाट संचालन गरेको छ । गत बैशाख ८ गते तय गरिएको सो परीक्षा कोराना भाइरस संक्रमण जोखिमका कारण स्थगित गरिएको थियो ।

परीक्षामा ४ लाख १५ हजार २ सय ५२ विद्यार्थी सहभागि रहेको बोर्डले जनाएको छ । ४ हजार १ सय ५ वटा परीक्षा केन्द्र तोकिएका छन् । संक्रमण जोखिम कायमै रहेका कारण परीक्षा संचालनमा विशेष सावधानी अपनाइएको छ । परीक्षाहलमा दुई मिटरको दुरी कायम गरिनुका साथै बढीमा २० जना परीक्षार्थी राख्न पाइने व्यवस्था गरिएको छ । 

इन्टेरनेटको पहुँच भएका विद्यालयमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अघि इमेल मार्फत प्रश्नपत्र पठाइएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताउनुभएको छ । दुर्गम तथा इन्टरनेटको पहुँच नभएको केही विद्यालयमा यस अघिनै प्रश्न पत्र पठाइएको बोर्डले जनाएको छ । परीक्षाको समय बिहान ८ देखी ९ ३० बजेसम्म तोकिएको छ ।

विद्यार्थीले आफुले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । करिव १२ हजार विद्यार्थीले आफुले अध्ययन गरेको भन्दा घरबाट पायक पर्ने विद्यालयबाट परीक्षा दिएका छन् । सैद्धान्तिक तर्फ प्रत्येक विषयको कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो ।

बांकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र २० प्रतिशत आन्तरिक मुल्यांकनको आधारमा दिइने परीक्षा सम्बन्धी कार्यविधीमा जनाइएको छ । परीक्षा आगामी मंगलबारसम्म जारी रहने छ ।   


प्रतिक्रिया