जयंशकरलाई भेट्दै ज्ञवाली, लगत्तै आयोगको बैठक

माघ २, २०७७ | नयाँदिल्ली

भारतको तीन दिने भ्रमणमा रहेका पराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रवार बिहान आफ्ना समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट गर्दै हुनुहन्छ । हैदरावाद हाउसमा बिहान ११ बजे हुने सो भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने बताइएको छ । 

बिहीबार साँझ रेडियो कान्तिपुरसँगको कुराकानीमा मन्त्री ज्ञवालीले दिल्लीमा हुने राजनीतिक भेटघाट नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, ईपीजी र कोभिड खोपका विषयमा केन्द्रित हुने बताउनुभएको थियो । ।

ज्ञवाली र जयशंकरबीचको भेट लगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक शुरु हुनेछ । बैठकका लागि दुवै पक्षले करीब तीन दर्जनभन्दा बढी एजेण्डा तय गरेका छन् । एजेण्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँ दिल्ली आएको थियो । 

बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटीलगायतका विषयमा छलफलमा हुने बताइएको छ । त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा हुने स्रोतले बताएको छ ।

नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यद्यपी भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पुरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ । 

बिहीबार साँझ भारतको विदेशमन्त्रालयले पनि त्यही धारणा सार्वजनिक गरेको थियो । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आयोग र सीमा विवाद फरक विषय भएको बताउनुभएको थियो । तर, भारतको सो धारणा बाहिर आए लगत्तै कान्तिपुरसँगको कुराकानीमा मन्त्री ज्ञवालीले आयोगको म्यान्डेट सीमालगायत द्धिपक्षीय विषयहरुमा छलफल गर्ने भएको प्रष्ट पार्नुभएको थियो ।

आयोगको बैठकलगत्तै मन्त्री ज्ञवाली भारतीय विदेशमन्त्री जयंशकरले आयोजना गर्ने दिवाभोजमा सरिक हुनुहुनेछ । त्यसपछि दिउँसो ३:३० मा नयाँदिल्लीस्थित भारत सरकारको थिंक ट्याकं परराष्ट्र मामिलासम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसिडब्लु) मा आयोजना गर्ने नेपाल–भारतसम्बन्धी विषयक कार्यक्रमलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।

मन्त्री ज्ञवाली दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिहं लगायतका उच्चराजनीतिज्ञहरुसँग भेट्ने तय भएको छ । यद्यपी ती भेटका बारेमा दुवै पक्षले हालसम्म केही खुलाएका छैनन् । मन्त्री ज्ञवाली शनिवार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ । 


प्रतिक्रिया