भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्दै

माघ ३, २०७७ | काठमाडौं

नेपाल–भारत संयुक्त आयोगको बैठकका क्रममा दिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले आज उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह लगायतसँग परराष्ट्रमन्त्री ज्ञवालीले भेटवार्ता गर्न लाग्नुभएको हो ।

रक्षामन्त्री राजनाथसिंहसँग अहिले केहीवेरमा भेटवार्ता गर्न लागेका परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेतवार्ता गर्ने तयारी भएको दिल्लीस्थित नेपाली दुतावासले जनाएको छ । सीमाको विषयलाई लिएर नेपाल र भारतवीचको सम्बन्ध चिसिएका बेला परराष्ट्रमन्त्री ज्ञवालीको उच्चस्तरीय राजनीतिक भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग खोलेको थियो । नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा निर्माण गरिएको सो सडक गत वैशाख २६ गते भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्नुभएको थियो । लगत्तै नेपालले मिचिएको आफ्नो भूमि समेटेर नक्सा जारी गरेको थियो । रक्षामन्त्री सिंहसंग सिमाको विषयमा आज ठोस छलफल हुन सक्ने दुतावास उच्च श्रोतको भनाई छ ।

नेपाल भारत संयुक्त आयोगको हिजोको बैठकमा सीमाको विषय भने ओझेलमा परेको थियो । बैठकमा भारतले नेपाललाई कोरोना विरुद्ध केही खोप उपलव्ध गराउने विषयमा भने संयुक्त आयोगको बैठकमा सहमति जुटेको छ । जनवरी भित्रमा भारतले अनुदानमा केही डोज खोप उपलव्ध गराउने सहमति भएको छ । 

यसैबीच संयुक्त आयोगको बैठक पछि परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आजै अपरान्ह स्वदेश फर्किदैछ । 


प्रतिक्रिया