नेकपा–कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

माघ ६, २०७७ | रुकुम पश्चिम

आठबीसकोट नगरपालिकाको केन्द्र राडी बजारमा तनाव उत्पन्न भएको छ । ९ नम्बर वडाको राडीमा हिजो बेलुकीदेखि नै तनाव उत्पन्न भएको हो । नेकपा दाहाल -नेपाल नेपाल समूहका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच निरन्तर झडप भइरहेको छ ।

 विहानदेखि पटक –पटक झडप भइरहेपछि प्रहरीले २ राउण्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउण्ड हवाई फायर गरेको छ भने १ राउण्ड अश्रुग्याँस हानेको छ । स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली आठबीसकोट गइरहेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुबकुमार श्रेष्ठले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको बताउनुभयो ।

हिजो बेलुकी ८ बजे दुवै पक्षका कार्यकर्ताबीच विवाद भएपछि उतिबेला सो विवाद समाधान गरिएको डिएसपी श्रेष्ठले बताए । नेकपाका ८–१० जना र नेपाली कांग्रेसका १०–१५ जना जम्मा भएर विवाद भइरहेको थाहा पाएपछि हिजो नै उनीहरुलाई तितरवितर पारिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आज विहानबाट भने अवस्था तानावग्रस्त बनेको हो । दुवै पक्ष छलफलका लागि इलाका प्रहरी कार्यालयमा पुगेका बेला झडपको अवस्था आएको थियो । एक पक्षले अर्को पक्षलाई आक्रमण गरेपछि अर्को पक्षले बजारका मान्छेहरु उठाएर वातावरण थग विग्रेको प्रहरीले जनाएको छ । झडपका क्रममा ९ नम्वर वडाध्यक्ष तारकबहादुर शाही सामान्य घाइते भएको डिएसपी श्रेष्ठले बताउनुभयो । हालसम्म कसैलाई नियन्त्रणमा लिए नलिएको बारेमा जानकारी आइनसकेको उहाँको भनाई छ । अवस्था नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट विहानै प्रहरी निरीक्षकको कमाण्डमा १२ जना जनपद र ७ जना सशस्त्र प्रहरी पठाइएको थियो । त्यसले पनि अवस्था नियन्त्रणमा नआएपछि थप सुरक्षाकर्मी राडी पुग्ने क्रममा छन् ।

 जिल्ला प्रहरीले १५ जना, सशस्त्र प्रहरीले १५ जना प्रहरी खटाएको छ भने जाजरकोटको दल्ली इप्रकाबाट ११ जनाको टोली आइरहेको छ । चौरजहारी नगरपालिकामा रहेको दंग नियन्त्रण गणबाट पनि १५ जना प्रहरी राडीका लागि हिँडेका छन् । पूरानै राजनीतिक रिसिविको झगडा फेरि उठेको डिएसपी श्रेष्ठले बताउनुभयो । राडीमा पटक पटक यी दुवै पक्षबीच झडप हुँदै आएको छ । 


प्रतिक्रिया