भारतले नेपाललाई दिने अनुदानमा तीन अर्बले वृद्धि

माघ १९, २०७७ | नयाँ दिल्ली

भारतले आगामी वर्षका लागि नेपाललाई दिने वित्तीय अनुदानमा गत वर्षको तुलनामा करीब तीन अर्ब रुपैयाँले वृद्धि गरेको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले आज लोकसभामा पेश गरेको २०२१/२२ को बजेटमा नेपाललाई दिने अनुदानमा गत वर्षको तुलनामा करीब दुई अर्ब भारुले वृद्धि गरिएको छ । 

बजेटमा आगामी वर्षका लागि नेपाललाई दिने अनुदानका लागि ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) विनियोजन गरिएको छ । दुई देशबीचको सम्बन्ध सुधारोन्मुख दिशामा अगाडि बढिरहेको सन्दर्भमा भारतले बजेटमा गरेको वृद्धिलाई अर्थपूर्ण ठानिएको छ । 

गत वर्षको बजेटमा भने सुरुमा ८ अर्ब भारु (१२ अर्ब ८० करोड रुपैयाँ) मात्र विनियोजन गरिएको थियो । गत वर्ष भने अघिल्लो वर्षको तुलनामा नेपाललाई दिने अनुदानमा करीब आधाले नै घटाइएको थियो । 

भारतले सन् २०१९/२१ का लागि करीब १२ अर्ब भारु अनुदान दिएकोमा गत वर्ष अर्थात् सन् २०२०/२१ का लागि आठ अर्ब भारु मात्र बिनियोजन गरेको थियो । पछि बजेटमा विनियोजित भन्दा थप ८० करोड भारु नेपाललाई दिइएको भारतको अर्थ मन्त्रालयको बजेट विवरणमा उल्लेख छ । भारत सरकारले विदेश मन्त्रालय मार्फत् नेपाललाई वित्तीय सहयोग गर्दै आएको छ । 

विगतका वर्षहरुमा जस्तै भारतबाट अनुदान पाउनेमा यसवर्ष पनि भुटान पहिलो नम्बरमा छ । भुटानका लागि ३० अर्ब भन्दा बढी अनुदान दिइने जनाएको छ । भारतले श्रीलंकालाई दिने अनुदानमा भने उल्लेख्य वृद्धि गरेको छ । गत वर्ष ७५ करोड मात्र अनुदान दिइएकोमा यस वर्ष त्यसलाई बढाएर २ अर्ब भारु पुर्‍याइएको छ ।


प्रतिक्रिया