तोकिएकै मितिमा चुनाव गराउन निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

माघ २७, २०७७ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको चुनाव गराउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । आगामी बैशाख १७ र २७ गते तोकिएको निर्वाचनको बारेमा भएका कार्य प्रगति बारे जानकारी लिंदै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा निर्वाचनको तयारीलाई कायम राख्न आग्रह समेत गर्नुभयो । 

बैशाखका लागि तोकिएको निर्वाचनको तयारी बारे जानकारी लिन प्रधानमन्त्री ओली केही मन्त्री, नेकपा नेताहरुसहित मंगलबार बिहान काठमाडौंको कान्तिपथस्थित आयोग कार्यालय पुग्नु भएको थियो । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले अहिलेसम्म भएका कार्यका बारेमा जानकारी गराउनुभएको थियो । 

यसैबीच, निर्वाचन आयोगले सरकारले तोकेको समयमा निर्वाचन गराउन कुनै कठिनाई नहुने स्पष्ट पारेको छ । आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले गत चुनावमा प्रयोग भएका मतपेटीका सवारी साधन लगायत केही सामग्री आगामी निर्वाचनमा समेत प्रयोग गर्न सकिने भएकाले तोकिएकै मितिमा निर्वाचन गराउन सहज हुने बताउनुभयो ।

आगामी निर्वाचनका लागि २१ हजार मतदान केन्द्र तोक्ने आयोगको तयारी छ । गत प्रतिनिधि सभाको निर्वाचनमा १९ हजार मतदान केन्द्र थिए । त्यस्तै, करीब ९ लाख मतदाता बढ्ने सहप्रवक्ता धमलाले बताउनुभयो । 

निर्वाचनका समयमा कोरोना संक्रमण जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरिने आयोगको तयारी छ । आगामी चुनावका लागि करीब १ करोड ६३ लाख मतदाता हुने अनुमान आयोगको छ ।  


प्रतिक्रिया