अदालतले जे भन्यो कांग्रेसले त्यही मान्छ : देउवा

फाल्गुन ६, २०७७ | पोखरा

प्रधानमन्त्री केपी ओलीले हठात् संसद विघटन गरेर देशमा धेरै ठूलो ध्रुवीकरण गरेको बताउनुभएको छ । संसद बिघटन कसैले ठिक र कसैले बेठिक भनेर अहिले देश नै पक्ष र विपक्षमा बाँडिएको उहाँको भनाइ थियो ।

नेपाल राष्ट्रिय मगर संघकोगण्डकी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्दै देउवाले संसद विघटन संवैधानिक, असंवैधानिक र अर्कोतिर अदालतमा रहेको मुद्धामा केन्द्रीत रहेर संसद पुनस्र्थापना या चुनाव हुनुपर्ने भन्ने चार कुरामा देशभरी पक्ष विपक्ष देखिएको बताउनुभयो । कांग्रेस पार्टीको बैठकमा पनि यस विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । ‘पार्टीभित्र कोही संसद पुनस्र्थापना भन्नुहुन्छ त कोही चुनाव हुँदा फाइदा हुन्छ भनेर बाँडिएका छन’ उनले भने, ‘तर म भन्छु, अदालतलाई यसो गर उसो गर भन्न मिल्दैन । बरु राम्रो वकिल राख्न पाइन्छ । वकिल राखेर बहस गराउने हो ।’

उहाँले सडकमा जुलुस निकालेर अदालतलाई मान् भन्ने कुरा नहुने बताउनुभयो । ‘जुलुस निकाल्न हामीसंग पैसा पनि छैन । ठाउँठाउँमा जबर्जस्ती बोलाउन पनि सकिँदैन’ देउवाले भन्नुभयो, ‘कि त प्रचण्डको जुलुस ठूलो होला कि त ओलीको हुन्छ । हाम्रो त हुँदैन । जुलुसकै आधारमा गर्ने हो भने अदालत किन चाहियो ।’ आफुहरुले ठूलो जुलुस ल्याउन नसक्ने र त्यसका लागि पैसा पनि नभएको उहाँको भनाइ थियो । कांग्रेसमा क्रियाशिल सदस्यलाई अनिवार्य बोलाए पनि जुलुसमा नआउने उहाँले बताउनुभयो । ‘क्रियाशिल लिने बेला मारामार हुन्छ । 

चुनावमा क्रियाशिल सबैलाई चाहिन्छ तर मिटिङमा कहिल्यै आउँदैनन’ उहाँले भन्नुभयो, ‘जुलुसमा झन के आउँथे ।’ अहिलेको बेला अदालतलाई निर्णय गर्न दिने तर यसो गर उसो गर नभनौँ र भन्न पनि पाइँदैन भन्दै उहाँले अदालतले संसद पुनस्र्थापना गरे पनि स्वीकार्ने र चुनाव भने पनि चुनावमा जाने बताउनुभयो । ‘अदालतको निर्णय मान्छौँ । अदालतलाई नमाने कसलाइ मान्ने’ उहाँले भन्नुभयो । 


प्रतिक्रिया