करिब ५ लाख डोज खोप विराटनगर र हेटौंडामा, अन्य प्रदेशमा १७ गतेभित्र खोप पठाइसक्ने

फाल्गुन १४, २०७७ | काठमाडौं

सरकारले खरिद गरेको भारतको सिरम इन्स्टिच्युटद्वारा उत्पादित कोभिड १९ विरुद्धको १० लाख डोज खोपबाट करिब ५ लाख डोज विराटनगर र हेटौंडा पठाएको छ । विराटनगर पठाइएको खोपले प्रदेश १ का सबै जिल्ला र प्रदेश २ का सप्तरी, सिरहालाई पनि समेटने मन्त्रालयले जनाएको छ । मन्त्रालयको आपुर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार काठमाण्डौं वरिपरिका नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा पनि आवश्यक खोपको मात्रा पठाइसकिएको छ । बाँकी रहेका अन्य प्रदेशमा १७ गतेभित्र खोप पठाइसक्ने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यही फागुन २३ गतेबाट शुरु हुने दोश्रो चरणको खोप अभियानमा पहिलो चरणमा सञ्चालन गरिएको खोप अभियानबाट बाँकी रहेको मात्रा शुरुमा प्रयोग गर्ने र आवश्यकता अनुसार खरिद गरिएको १० लाख डोज प्रयोग हुने बताउनुभयो । सरकारले खरिद गरेको २० लाख मात्रा कोभिसिल्ड दोश्रो चरणमा सञ्चालन हुने खोप अभियानमा पहिलो मात्रा लगाउन पुग्ने मन्त्रालयले जनाएको छ । दोश्रो चरणमा सञ्चालन हुने अभियानमा ५५ वर्ष माथिका करिब ३६ लाख जनालाई समेट्ने मन्त्रालयको लक्ष्य रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

 सरकारले खरिद गरेको २० लाख डोज खोप मध्ये १० लाख डोज फागुन ९ गते नै काठमाण्डौं आइसकेको छ भने बाँकी १८ गतेभित्र आइसक्ने मन्त्रालयले जनाएको छ । अर्को चरणमा खोप ल्याउने तयारी पनि लगभग पुरा भएको प्रवत्त:ा गौतमले बताउनुभयो । सरकारले पहिलो चरणमा माघ १४ गतेदेखि सञ्चालन गरेको कोभिड १९ विरुद्धको खोप अभियानमा पहिलो प्राथमिकतामा परेका ४ लाख २९ हजार ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उपलब्धताका आधारमा सरकारले अब भने उमेर समूहमा गएर खोप लगाउने तयारी गरेको छ । 


प्रतिक्रिया