प्रदेशसभा सदस्य पद खारेज भएका आङ्बोहाङ मन्त्रीमा पुनर्नियुक्तिपछि लिए सपथ

चैत्र २७, २०७७ | मोरङ

प्रदेशसभा सदस्य पद खारेज भएका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङले शुक्रबार पुनः नियूक्त भएर मन्त्री पदको सपथ लिनुभएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रीमै पुनः नियूक्त गरेपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

तत्कालिन माओवादी केन्द्रबाट ताप्लेजुङको १(ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर संसदीय दलका नेता भएका आङ्बोहाङ चैत १३ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए । एमालेको केन्द्रीय सदस्य भई मन्त्री समेत भएको भन्दै माओवादी केन्द्रले आङ्बोहाङले दल त्याग गरेको पत्र प्रदेश सभामा दर्ता गरेको थियो ।

सभामुख प्रदिपकुमार भण्डारीले बिहिवार प्रदेशसभा बैठकमा माओवादी केन्द्रले आङ्बोहाङले दल त्याग गरेको पत्र पढेर प्रदेशसभा सदस्यबाट पद मुक्त भएका सदनलाई जानकारी गराउनुभएको थियो ।

तत्कालिन माओवादी केन्द्रका संसदीय दलका नेता आङ्बोहाङ पार्टी एकतापछि उपनेता हुनुभएको थियो । मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आङ्बोहाङ फागुन २८ गते नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित हुनुभएको थियो ।  


प्रतिक्रिया