गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

वैशाख २, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका प्रदेश सांसदले आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । 

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव तयार पारिएको हो । प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । 

गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् । अविश्वास प्रस्ताव दर्ता हुने भएपछि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको छ । 

मुख्यमन्त्री गुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गएराति १२ बजेबाट लागू हुनेगरी चालू अधिवेशन अन्त्य गर्नु भएको हो । प्रदेशसभा सचिवालयले भने आज मात्र अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको छ । 

आफु विरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुने भएपछि मुख्यमन्त्री गुरुङले प्रदेश सभा नै अन्त्य गर्न सिफारिस गर्नुभएको हो । अविश्वास प्रस्ताव दर्तासँगै कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी जसपाले अधिवेशन बोलाउन प्रदेश प्रमुख शेरचनसँग माग गर्ने भएका छन् । 

ती दलको आजको बैठकले अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन गर्ने निष्कर्ष निकालेको हो । प्रदेश अधिवेशन अन्त्य गरेपनि २५ प्रतिशत सांसदले माग गरे पुन: अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । 


प्रतिक्रिया