स्वास्थ्यकर्मी अभावले संक्रमितको उपचारमा बाधा, अस्पतालले माग्यो १ सय स्वास्थ्यकर्मी

वैशाख २३, २०७८ | सुर्खेत

कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमितले बेड भरिँदै जाँदा चिकित्सक र स्वास्थ्यकर्मीको चर्को अभाव हुन थालेको छ । यसले गर्दा अस्पताल पुगेर पनि कोरोनाका बिरामीको राम्रो उपचार नपाइ मृत्यु हुन थालेको छ ।

बिहीबारसम्म कालागाउँस्थित कोभिड विशेष अस्पतालमा ८२ जना संक्रमित भर्ना भएका छन् । तीमध्ये १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अन्य संक्रमित पनि अक्सिजनको भरमा उपचार गराइरहेका छन् । अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार कोभिड विशेष अस्पतालको लागि ३ जना मेडिकल अधिकृतसहित २४ जना स्वास्थ्यकर्मी खटिएका छन् । ‘बिरामीलाई औषधी दिनै तीन–चार घण्टा लाग्छ, अन्य रेखदेख गर्ने समय नै हुँदैन,’ उहाँले भन्नुभयो, ‘जनशक्ति अभावले गर्दा अस्पताल भर्ना भएर पनि बिरामीले चाहेजस्तो सेवा पाउन सकिरहेका छैनन् ।’

जनशक्ति अभावको प्रभाव कोभिड वार्डमा स्पष्ट देख्न सकिन्छ । वार्डमा स्वास्थ्यकर्मीको उपस्थिति हुँदैन । अक्सिजन, स्लाइनको मात्रा थपघट गर्नेदेखि स्वास्थ्य हेरचाहको काम संक्रमितका कुरुवाले गरिरहेका हुन्छन् । पुरानो अस्पताल भवनको टेन्टमा संक्रमित बुवाको हेरचाह गरिरहेका पश्चिम सुर्खेतका एक युवाले नर्स र डाक्टरलाई बोलाउँदा पनि नआउने गरेका बताउनुभयो । ‘कति–कति बेला आउँछन्, ढोकाबाट हेरेरै फर्किन्छन्,’ उहाँले भन्नुभयो, ‘बुवाको ज्यान त भगवान भरोसामा अडिएको छ ।’

संक्रमितका आफन्तहरु स्वास्थ्य मापदण्डबिनै हेरचाहमा खटिएका छन् । उनीहरु एउटा मास्कको भरमा रातदिन बिरामीसँगै बस्छन् । आफूलाई संक्रमण सर्ने जोखिम भए पनि बिरामीसँग बस्नु बाध्यता रहेको उनीहरुको भनाइ छ । बुधबारदेखि आमाको हेरचाहमा खटिएका वीरेन्द्रनगरका केशव भुसालले कोरोना सर्ने निश्चितजस्तै भए पनि कोरोना वार्डमा बस्नुको बिकल्प नरहेको बताउनुभयो । । ‘आफू नबसी राम्रो उपचार हुँदैन, आमालाई सन्चो भएर अस्पतालबाट फर्केपछि कोरोना जाँच गर्नुपर्ला,’ उहाँले भन्नुभयो, ‘संक्रमण भइहालेछ भने पनि कोरोनासँग लड्नुपर्ला भनेर भित्र बस्न थालेको हुँ ।’

एक सय स्वास्थ्यकर्मी माग

अस्पतालले यही अवस्थाको आंकलन गर्दै जनशक्ति व्यवस्थापनको लागि सरकारसँग पटक–पटक आग्रह गर्दै आएको छ । अस्पताल निर्देशक डा. डम्बर खड्काले प्रदेश सरकारसँग कोभिड अस्पतालको लागि १२ जना चिकित्सक (मेडिकल अधिकृत) र ५६ जना नर्ससहित एक सयजना स्वास्थ्यकर्मी माग गरिएको बताउनुभयो । तत्काल माग गरिएको जनशक्ति भर्ना गर्न नसकिएमा संक्रमितको उपचारमा जटिलता थपिने उहाँको भनाइ छ ।

डा. खड्काका अनुसार अस्पतालमा ३ सय २० जना स्वास्थ्यकर्मी–कर्मचारीको दरबन्दी भए पनि स्थायी सेवाका करिब १ सय २० जनामात्र छन् । ‘सबैभन्दा ठूलो समस्या त जनशक्ति अभावले पारिरहेको छ,’ उहाँले भन्नुभयो, ‘कोरोनाका बिरामी बढेका बढ्यै छन्, उनीहरुलाई राम्ररी सेवा पुर्‍याउन सकिएकै छैन ।’ स्वास्थ्यकर्मीको उपलव्धता सहज भएमा उनीहरुलाई वार्डमै राखेर संक्रमितको उपचारमा खटाउन सकिने उहाँले बताउनुभयो ।

प्रभावकारी उपचार अभावकै कारण पछिल्लो समय संक्रमितको मृत्युदर पनि बढीरहेको छ । एक सातायता प्रदेश अस्पतालमा दैनिक सरदर २ जनाको मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्र ४ जनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. पौडेलले बताउनुभयो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस अवधिमा कर्णाली प्रदेशभर ८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ७३ जनाको मृत्यु भएको निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अक्सिजन पनि अभाव

बिरामी थपिँदै जाँदा अस्पतालमा अक्सिजन पनि अभाव हुन थालेको छ । अस्पतालको नयाँ र पुरानो भवनमा दुईवटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । दुबै प्लान्टबाट ३२ बेडमा अक्सिजन आपूर्ति हुने गरेको छ । बाँकी बेडका बिरामीलाई सिलिन्डरबाटै अक्सिजन आपूर्ति गर्ने गरिएको डा. पौडेलले बताउनुभयो । उहाँका अनुसार नयाँ भवनको थप २४ बेडमा अक्सिजन ‘पोर्ट’ राख्ने काम अन्तिम चरणमा पुगेको छ । ‘यति गर्दा पनि बिरामीको बढ्दो संख्यालाई थेग्न सक्ने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘सरकारले अक्सिजन उत्पादन र जनशक्ति व्यवस्थापनमा बेलैमा ध्यान दिएन भने स्थिति केही दिनमै भयावह हुनेवाला छ ।’

मुख्यमन्त्रीसँग गुनासो

यसैबीच, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग तत्काल जनशक्ति व्यवस्थापन र अक्सिजनको आपूर्ति सहज गर्न माग गरेका छन् । बुधबार अनुगमन र अन्तरक्रियाको क्रममा प्रदेश अस्पताल पुगेका मुख्यमन्त्री शाहीसँग चिकित्सकको गुनासो थियो, ‘हामी संक्रमितको उपचार गर्दैमा थाकिसक्यौं, थप जनशक्ति छिटो व्यवस्था गरियोस् ।’ सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शाहीले प्रदेश अस्पताललाई आवश्यक जनशक्ति करारमा भर्ना गर्नको लागि निर्देशन दिएका छन् ।


प्रतिक्रिया