गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

वैशाख २६, २०७८ | पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पदबाट राजीनामा दिनु भएको छ । केही समय अघि मात्र उहाँले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा पत्र बुझाउनु भएको हो । मुख्यमन्त्री गुरुङविरुद्ध सोमबार अविश्वास प्रस्तावमा मतदानको प्रक्रिया सुरु हुँदै थियो । त्यसको अघिल्लो दिन मुख्यमन्त्रीले राजीनामा दिनु भएको हो ।
प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनको आह्वान गर्नु भएको छ ।
मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का २८ जना सांसदले बैशाख २ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर, आफूविरुद्ध अविश्वास प्रस्ताव आउन लागेको थाहा पाएपछि प्रदेश सरकारले बैशाख १ को मध्यरातिबाट चालू हिउँदे अधिवेशन अन्त्य गर्नु भएको थियो ।
अविश्वास प्रस्ताव दर्ता गरेकै दिन विपक्षी मोर्चाले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख पौडेल समक्ष समावेदन गरेका थिए । सोही समावेदनका आधारमा तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले बैशाख १३ मा विशेष अधिवेशन बोलाउनु भएको थियो ।
अविश्वास प्रस्तावमाथि बैशाख १५ मा मतदान हुने कार्यसूची रहेकोमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अधिवेशन अनिश्चितकालका लागि स्थगित गर्नु भएको थियो । त्यसपछि सोमबारलाई अविश्वास प्रस्तावमाथि मतदान गर्ने दिन तोकिएको थियो ।
