एमयूमा खुला प्रतिस्पर्धाबाट डीनसहितका १७ पदाधिकारी नियुक्त

वैशाख २९, २०७८ | सुर्खेत

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रिक्त रहेका १७ पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयले पहिलो पटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको हो । 

उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहका अनुसार व्यवस्थापन संकायको डीनमा प्रा. डा. दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा डा. लिलाधर तिवारी, विज्ञान तथा प्रविधि संकायको डीनमा डा. सुदीप ठकुरी र कृषि तथा वन विज्ञान संकायको डीनमा डा. विमलकुमार कर्ण नियुक्त भएका छन् । 

त्यसैगरी योजना विकास अनुगमन निर्देशनालयको निर्देशकमा प्रा. डा. चन्द्रप्रकाश (सीपी) रिजाल, पाठ्यक्रम विकास निर्देशनालयको निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालयको निर्देशकमा प्रा. डा. विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा. डा. सुधन झा नियुक्त भएका छन् । विश्वविद्यालयले ९ वटा आंगिक क्याम्पसमा पनि क्याम्पस प्रमुख नियुक्त गरेको छ । 

उपकुलपति सिंहका अनुसार जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खीमबहादुर खड्का, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुल्मीको प्रमुखमा तुलबहादुर राना, विद्यापुर जनता बहुमुखी विद्यापुरको प्रमुखमा तीर्थबहादुर शाही, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम नियुक्त भएका छन् ।

विश्वविद्यालयले पदाधिकारी छनोटको लागि लोकसेवा आयोगका सदस्य बृन्दा हाडाको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयका पूर्व डीन प्रा.डा.विजय केसी र त्रिभुवन विश्वविद्यालयका विज्ञान संकाय अन्तर्गतका पूर्वनिर्देशक प्रा. डा. रामेश्वर अधिकारी सदस्य रहेको ३ सदस्यीय छनोट समिति गठन गरिएको थियो । छनोट समितिले उम्मेदवारले पेश गरेको भिजन पेपर, शैक्षिक योग्यता, कार्य अनुभव सहित डकुमेन्टको आधारमा नाम सिफारिस गरेको उपकुलपति सिंहले बताउनुभयो । 

उहाँका अनुसार छनोट समितिले दिएका नामलाई बैशाख १८ गतेको कार्यकारी परिषदको बैठकबाट नियुक्त गर्ने निर्णय गरिएको थियो । सबै पदाधिकारीलाई जेठ १ गतेदेखि कामकाज गर्ने गरी नियुक्त गरिएको उहाँले बताउनुभयो । विश्वविद्यालयले यसअघि रजिष्ट्रार नियुक्ती गर्दा पनि खुला विज्ञापन आह्वान गरेको थियो । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज चालिसेको संयोजकत्वमा बनेको समितिले रजिष्ट्रार नियुक्तिको लागि नाम सिफारिस गरेको थियो । 

उपकुलपति सिंहले विश्वविद्यालयलाई विभिन्नखाले दबाब र प्रभावबाट मुक्त गरेर नमूना विश्वविद्यालय बनाउनको लागि खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया थालिएको बताउनुभयो । ‘कानूनत: रजिष्ट्रार नियुक्तिको सिफारिस र अन्य पदाधिकारी नियुक्तिको एकल अधिकार उपकुलपतिलाई हुन्छ, तर हामीले खुला प्रतिस्पर्धाबाट क्षमतावान व्यक्ति आउन् भनेर यस्तो कामको थालनी गरेका हौं,’ उहाँले भन्नुभयो, ‘यसले हाम्रो विश्वविद्यालयलाई उत्कृष्ट बनाउन सहयोग गर्नुका साथै अन्य विश्वविद्यालयलाई पनि राम्रो सन्देश दिने विश्वास लिएका छौं ।’

 विश्वविद्यालयका थप पदाधिकारी नियुक्तिमा पनि यही प्रक्रिया अपनाइने उहाँले बताउनुभयो । सुरुवाती अभ्यास र कोभिडको कारण पहिलोपटक केही ढिलो भएपनि अबको नियुक्ति प्रक्रिया करिब एक साताभित्रै सम्पन्न गरिने उहाँको भनाइ छ ।


प्रतिक्रिया