पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना संक्रमण मुक्त

असार ५, २०७८ | काठमाडौं

नेपालमा दैनिक कोरोना भाइरस संक्रमण दर २० दशमलव ५३ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ९६ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४ सय एक संक्रमित पाईएका हुन् । 

७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ एन्टिजेन परीक्षणबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लामो समयपछि काठमाडौं उपत्यका भन्दा बाहिरी जिल्लामा बढी संक्रमित भेटिएका छन् । 

काठमाडौंमा २ सय १ जानमा संक्रमण देखिदा बाङलुङका २ सय २५ संक्रमित पाईएको छ । मोरङमा १ सय ३०, सुनसरीमा १ सय १० र झापामा १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा २८ जनामा मात्रै संक्रमण पु्ष्टि भएको मन्त्रालयले जनाएको छ । 

मुलुकभर ५७ हजार ६ सय १८ जना संक्रिय संक्रमित छन् । जसमध्ये ५३ हजार ७ सय ३३ होम आईसोलेशनमा र ३ हजार ८ सय ८५ जना संस्थागत आइसोलेशनमा छन् । ८ सय ७४ जनाको आईसीयूमा र २ सय ५८ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

सोही अवधिमा ३ हजार ६ सय ६० जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल संक्रमितको ८९ दशमलव ३ प्रतिशत संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने ८ हजार ६ सय ७५ जना पुगेका छन् । 


प्रतिक्रिया