प्रधानमन्त्रीमा देउवाको ५ औं इनिङ्

असार २८, २०७८ | काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा ५ औं इनिङ्स भोलि सुरु हुँदैछ । सर्वोच्चको परमादेशसँगै उहाँले सत्तारोहणको ५ औं यात्रा सुरु गर्ने हुनुभएको हो । देउवा तत्कालीन राजा वीरेन्द्रको पालामा पहिलो पटक २०५२ भदौ देखि २०५३ फागुनसम्म प्रधानमन्त्री हुनुभएको थियो । 

देउवाको दोस्रो सत्तारोहण २०५८ साउनदेखि २०५९ असोजसम्म कायम भयो । उहाँ तेस्रो पटक २०६१ जेठ २१ मा प्रधानमन्त्री हुनुभयो । देउवाको सो कार्यकाल २०६१ माघ १९ गतेसम्म चलेको थियो । 

२०५८ मा प्रधानमन्त्री बनेका देउवालाई २०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चाल्दै पदमुक्त गर्नुभएको थियो । देउवालाई हटाएपछि राजाको प्रतिगमन विरुद्धको आन्दोलन चर्किएको थियो । 

आन्दोलन चर्किएपछि तत्कालीन राजा ज्ञानेन्द्रले नै देउवालाई २०६१ मा पुन: प्रधानमन्त्री बनाउनुभयो । ज्ञानेन्द्रले संसद् पुनर्बहाली गर्ने भनेपछि देउवा प्रतिगमन सच्चिएको भन्दै प्रधानमन्त्री बन्नुभएको थियो तत्कालीन समयमा । तर, २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई पुन: प्रधानमन्त्रीबाट हटाउँदै सक्रिय शासन सुरु गर्नुभयो । 

२०६१ सालपछि देउवा २०७४ साल जेठ २४ देखि २०७४ फागुन ३ गतेसम्ममा प्रधानमन्त्री बन्नुभयो । त्यतिबेला उहाँले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन गराउनु भएको थियो । 


प्रतिक्रिया