रोकिएन सुन तस्करी: आधा किलो सुनसहित विमानस्थलबाट २ पक्राउ

श्रावण २१, २०७८ | काठमाडौं

अवैध तवरले भित्राईएको ४ सय ७४ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार पक्राउ पर्नेमा सिरहाका २४ वर्षीय रिसब महतो र खोटाङका ४१ वर्षीय अम्बर चाम्लिङ छन् । 

प्रहरीले सुरुमा रिसबलाई पक्राउ गरेको थियो । साउदीबाट जजिरा एयरलाइन्सको उडानबाट काठमाडौं आएका यात्रुहरुबाट सुनका गहना संकलन गर्दै गरेको अवस्थामा रिसब पक्राउ परेको एसएसपी बाँस्तोलाले बताउनुभयो । उनको साथबाट ८ वटा सुनको बाला र दुई वटा औंठी गरी जम्मा ४ सय ७४ ग्रामको सुन बरामद भएको हो । 

प्रहरीका अनुसार सो सुन आजको बजार मूल्य अनुसार ३७ लाख ३८ हजार ६७५ रुपैयाँ बराबरको हो । रिसबसँगको सोधपुछपछि प्रहरीले काठमाडौंको तिलगंगास्थित खोटाङ हलेसी गेष्ट हाउसका संचालक अम्बरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुनको तस्करीमा अम्बरको पनि संलग्नता छ । 

हिजो मात्रै प्रहरीले सिनामंगलस्थित एक होटलबाट तस्करीको १ किलो ८ सय ६६ ग्राम सुनसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुले पनि नेपाली कामदारलाई प्रलोभनमा पारेर सुन तस्करी गराएको खुलेको थियो । 

साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्यापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरेर संगठित रुपमा हुने सुन तस्करी रोकिएको छ । तर, तस्करले बैदेशिक रोजगारीका लागि विदेशमा गएका नेपाली कामदारलाई प्रयोग गरेर सानो मात्रमा सुनको तस्करी गदै आएका छन् । 

साढे ३३ किलो सुन तस्करी र शाक्य हत्या घटनाका मुख्य केही आरोपितहरु भने अझ्ै पक्राउ परेका छैनन् । उनीहरु पुन: सुन तस्करीमा संक्रिय हुन थालेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । 

साढे ३३ किलो सुन गायब प्रकरणमा गृह मन्त्रालयको छानबिन समितिले ७५ जनालाई प्रतिवादी बनाएर मुद्दा चलायो । केही पक्राउ परे पनि छुटे । केही फरार छन् । तर सुन तस्करी अझै सेलाएको छैन । सुन बरामद घटनामा प्रारम्भिक रुपमा अभियुक्त पक्राउ पर्छन् । त्यसपछिका थप व्यक्ति कहिल्यै पक्राउ पर्दैनन् ।


प्रतिक्रिया