प्रदेश २ मा एमाले सांसद उप्रेतीले रोजे नेकपा एकीकृत समाजवादी

भाद्र २२, २०७८ | धनुषा

प्रदेश २ का सांसद डिल्ली उप्रेतीले एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर उप्रेतीले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । 

उनी भारतको नयाँ दिल्लीमा उपचार गराएर सोमबार काठमाडौं आइपुगेका हुन् । यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले दिल्लीस्थित नेपाली दूतावासबाट सांसद उप्रेतीको सनाखत गराउने प्रक्रिया अगाडि बढाएको थियो । 

दूतावासले सोमबार सनाखतको समय तोकेको सांसद उप्रेतीले बताउनुभयो । दूतावासले सनाखतका लागि निर्धारण गरेको समयमा नेपाल फर्किने भएका कारण प्रदेश कार्यालयमै उपस्थित भएर सनाखत गरेको प्रदेश सांसद उप्रेतीले बताउनुभयो । 

दिल्लीमा समय अभाव, सुरक्षा जाँच र कोभिड–१९ संक्रमणको जोखिमका कारण सोमबार सनाखत नगरी नेपाल फर्किएको उहाँको भनाई थियो । दूतावासबाट सनाखतको प्रक्रिया अगाडि बढेपनि शनिबार नेपालमा बिदा र आइतबार भारतमा बिदा भएका कारण सोमबार सनाखतको समय तोकिएको थियो । 

ट्यूमरको उपचारका लागि दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा भर्ना भएका उप्रेती सोमबार डिस्चार्ज भएर नेपाल फर्केका हुन् । यसअघि एमालेका १२ जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका थिए । उप्रेतीको सनाखतपछि नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने सांसदको संख्या १३ पुगेको छ । 

यसअघि एमालेका गोविन्द बहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुङ्गेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ्गले निर्वाचन कार्यालयमा उपस्थित भएर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए । 

प्रदेश २ को प्रदेश सभामा एमालेका २१ मध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि एमालेमा ८ जान मात्र सांसद बाँकी रहेको छ ।


प्रतिक्रिया