संसदीय गतिरोधपछि प्रतिस्थापन विधेयक अघि बढ्न सकेन/सरकारी खर्च नहुने अवस्था सृजना

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७८ | काठमाडौं

संसदभित्र देखिएको अवरोधपछि बजेटसम्वन्धी प्रतिस्थापन विधेयक अघि बढाउने प्रक्रियामा ढिलाइ हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसदले नारावाजी गरेपनि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गर्दै असोज ४ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । भदौभित्र बजेट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने अवस्थामा त्यसको टुङ्गो नलाग्दै बैठक अर्को साताका लागि सारिएको हो । विधेयक रोकिएपछि भोलि बुधवारबाट सरकारी खर्च बन्द हुने देखिएको छ । 

संसदको बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५–७ दिन सरकारी खर्च रोकिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो– “सहमति भए सहमतिअनुसार पारित गर्छौं । सहमति नभए नियमित प्रक्रिया पूरा गर्छौं । पारित गर्नका लागि केही समय ग्याप रहृयो भने केही समय खर्च गर्न नसक्ने पनि हुन सक्छ । वार्ता संवादबाट कोसिस चलिरहेको छ ।” विधेयक पारित नभएसम्म सरकारी खर्च रोकिएपनि कर उठाउन सक्ने व्यवस्था छ । 


आफ्नो पार्टी विभाजनमा सभामुखले सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । 


प्रतिक्रिया