राष्ट्रियसभाबाट दुई विधेयक पारित

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७८ | काठमाडौं

राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक–२०७८ पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गर्नुभएको थियो । छलफलमा भाग लिने कोही नभएपछि संक्षिप्त प्रक्रियाबाट दुवै विधेयकलाई माथिल्लो सदनले बहुमतले पारित गरेको हो । 

राष्ट्रियसभाको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी एमालेका सांसदले उभिएर विरोध जनाएका थिए । त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद परशुराम मेघी गुरुङलाई बोल्न समय दिनुभएको थियो । सांसद गुरुङले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकका सन्दर्भमा ध्यानाकर्षण गराउँदै पार्टी नेतृत्वको समेत वार्षिक आम्दानी सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । उहाँले वर्तमान सरकारले विभिन्न व्यक्तिलाई आय कर छुट र स्रोत खोज्न नपर्ने गरी प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाउनुभयो । 

सांसद गुरुङले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारसम्बन्धी कानूनलाई प्रभावित नहुने गरी करको दायरा मात्रै विस्तार गर्न लागिएको स्पष्ट पार्नुभयो । राष्ट्रियसभाको अर्को बैठक असोज १७ गते दिउँसो १ बजे बस्नेछ ।


प्रतिक्रिया