बझाङमा बाढी पहिरोमा परि २४ बेपता, एक सय बढी परिवार विस्थापित

कार्तिक २, २०७८ | बझाङ

बझाङमा बाढी–पहिरोमा परि २४ जना बेपत्ता भएका छन् । सोमबार राति आएको पहिरोमा परि थलारा गाउँपालिका–४ डिक्ला २४ जना पहिरोमा हराएका हुन् । गाउँबाट एक किलोमिटरमाथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पुरिएको खबर आएको प्रहरीले जनाएको छ । 

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ६ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र हाल सम्पर्कमा आएका छन् । 

पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा आश्रय लिई बसेका छन् । पूरा गाउँ पहिरोको जोखिममा परेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताउनुभयो । 

पहिरो पीडितको उद्धारमा खटिएको प्रहरी टोली डिक्ला पुगेपनि पहिरो खसिरहेका कारण उद्धारमा कठिनाई भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खडकाले बताउनुभयो । ‘पहिरोमा एकजनाको आधा शरीर देखिएको भन्ने खबर आएको छ । 

पहिरो खसिरहेकाले उद्धारको काम हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘बाटो अवरुद्ध भएकोले थप बल त्यता पठाउन पनि सकिएको छैन ।’ यस्तै, आइतबार रातिबाट सुरु भएको अविरल वर्षाका कारण जिल्ला भरीको जनजीवन अस्तव्यस्त भएको छ । दर्जनौँ गाउँ पहिरोको जोखिममा रहेको सयौं परिवार विस्थापित भएको भनिएपनि पुष्टि हुन बाँकी छ । 

पहिरोले जयपृथ्वी नगरपालिका–१ पिमि गाउँमा मात्रै ६० परिवार विस्थापित भएको स्थानीयले बताएका छन् । स्थानीय उत्तम सिंहले भने, ‘पानी पर्न रोकिएको छैन । मंगलबार राति पनि यस्तै पानी पर्‍यो भने गाउँ नै बगाउने अवस्था छ ।’ 

यस्तै, लगातारको वर्षापछि सदरमुकाम नजिक भएर बग्ने डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोडने झोलुङगे पुल बगाएको छ । पुल नजिक रहेका ५ वटा पक्की घर पनि बगाएको र बजारका अरु घरहरु पनि जोखिममा परेको प्रहरीले जनाएको छ । 

पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले बताउनुभयो । 

पहिरोले जिल्ला जोड्ने जयपृथ्वी राजमार्ग लगायत जिल्ला भित्रका सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । सोमबारदेखि नेपाल टेलिकमको सञ्चार सेवा पूर्णरुपमा अवरुद्ध छ भने एनसेलको सेवा आंसिक रुपमा सुरु भएको छ । 

ठाउँ–ठाउँमा पोल ढलेका कारण जिल्लाभर विद्युत सेवा अवरुद्ध छ । सदरमुकाम चैनपुर लगायत दर्जन बढी ठाँउको खानेपानी सेवा पनि अवरुद्ध भएको छ । 

जिल्लामा मोबाईल सेवा अवरुद्ध भएकाले कुन ठाउँमा कति क्षति भयो भन्ने यकिन विवरण नआइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘टेलिफोन सम्पर्क विच्छेद छ । बाटो बिजुली बन्द भएकोले कहाँ कति क्षति भयो केही थाहा हुन सकेको छैन ।’


प्रतिक्रिया