बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७८ | काठमाडौं

बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ । भदौ २ गते ठूलो दलको हिसावले मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिन माग गरेसँगै बागमति प्रदेशमा नयाँ मुख्य मन्त्री बन्ने प्रक्रिया थालनी भएको हो । आगामी कात्तिक १० गते बस्ने प्रदेश सभाको बैठकमा मत विभाजन हुने भएको छ । 

नेपाली कंग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेलाई मुख्य मन्त्रीको प्रस्ताव गरिएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्य मन्त्री शाक्यले विश्वासको मत माग्नुभएको थियो । बैठकको शुरुमा बोल्दै शाक्यले आफ्नो सरकारलाई समर्थन दिन माग गर्नुभयो 

केन्द्रमा जस्तै बागमति प्रदेशमा पनि नेपाली कंग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीवीच गठबन्धन भएपछि नयाँ सरकारको बन्न लागेको हो । गठबन्धन दलका सांसदहरुले मुख्य मन्त्री शाक्यलाई विश्वासको मत दिन नसकिने भएकाले मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । माओवादी केन्द्रका सांसद सालिकराम जमरकट्टेलले राजनीतिक इमानदारीताका लागि शाक्यले मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।

नेकपापछि एमाल ेसमेत विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठन भएपछि वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । एकीकृत समाजवादीका सांसद राजेन्द्रं पाण्डेले अल्पमतमा परिसकेको अवस्थामा पदमा बस्न नमिल्ने बताउनुभयो ।

नयाँ गठबन्धनका दलहरुले विश्वासको मत लिने प्रक्रिया नलम्ब्याउन माग समेत गरेका छन् । नेपाली कंग्रेसका संसदीय दलका नेता इन्द्र बाँनियाले विश्वासको मत लिने प्रक्रिया लम्ब्याउन नहुने धारणा राख्नुभयो ।

मुख्य मन्त्री शाक्यले विश्वासको मत नपाउने निश्चित जस्तै छ । प्रदेशसभामा हाल कायम १०९ सांसद छन् । त्यसमध्ये गठबन्धनमा माओवादी केन्दका्र २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादीका १ गरी ५९ सांसद छन् ।


प्रतिक्रिया