अर्ली इलेक्सन हुँदैन : पुष्पकमल दाहाल

कार्तिक १३, २०७८ | जनकपुर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुनैपनि हालतमा अर्ली इलेक्सन नहुने बताउनु भएको छ । शनिबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च अदालतले संसद पुनस्र्थापना सम्बन्धी गरेको फैसला तथा संवैधानिक कारणले पनि अर्ली इलेक्सनमा जान नसकिने बताउनु भएको हो । 

उहाँले भन्नुभयो, ‘अर्ली इलेक्सनमा जाने कुरै छैन । सत्ता साझेदार दलहरुबीचमा गजबको समझदारी छ । संविधानले पनि यस्तो परिकल्पना गरेको छैन ।’ सत्ता गठबन्धन दलका नेताहरुबीच गजबको समझदारी रहेको उल्लेख गर्दै उहाँले अगामी निर्वाचनमा पनि मिलेर जाने प्रतिवद्धता जनाउनुभयो । 

‘निर्वाचनमा पनि मिलेर जाने हामीबीच सैद्धान्तिक सहमति छ । हामी मिलेर सरकार पनि चलाउँछौँ । मिलेर चुनावमा पनि जान्छौं ।’ रेल सञ्चालन, नागरिकता, कर्मचारी समायोजन जस्ता महत्वपूर्ण विधेयक तथा अध्यादेश संसदमा रोकिएर रहेको बेला प्रतिनिधिसभा स्थगन किन गर्नुपर्‍यो ? भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपीक्षको असयोगको कारण संसद स्थगत गर्नु परेपनि महत्वपूर्ण कानूनहरु अध्यायदेश मार्फत भएपनि यथाशिघ्र ल्याउछौं ।’ 

अध्यक्ष दाहाले नागरिकताका समस्या समाधान गर्न अध्यादेश ल्याउन सक्ने संकेत गर्नुभयो सर्वोच्चले यसअघिको नागरिकता अध्यादेशको कार्यान्वयनमाथि रोक लगाएको विषयमा सञ्चारकर्मीले ध्यानाकर्ष गराउँदा दाहालले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गलत नियतिले नागरिकता अध्यादेश ल्याएको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, ‘नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ । अध्यादेश मार्फत ल्याउनु परेपनि नागरिकता विधेयक सहमतिमै ल्याईने छ ।’ 

अर्को प्रसंगमा अध्यक्ष दाहालले पछिल्लो समय सर्वोच्चमा देखिएको गतिरोध बारे सत्ता गठबन्धन दलको साझा धारणा बन्न नसकेको तथा साझा धारणा बनेपछि मात्र आधिकारिक धारणा व्यक्त गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ता साझेदार दलका केही नेताहरु अचेल काठमाडौं बाहिर छन । सबै आउने बित्तिकै साझा धारणा सार्वजनिक हुन्छ ।’


प्रतिक्रिया