'ओमिकर्न'को संक्रमणबाट बच्न सावधानी अपनाउन पहल सुरु

मंसिर ११, २०७८ | काठमाडौं

सरकारले कोरोना भाइरसको परिवर्तित स्वरुप ओमिकर्नको संक्रमणबाट बच्न सावधानी अपनाउन पहल सुरु गरेको जनाएको छ । 

यही नोभेम्बर २४ मा अफ्रिकामा पुष्टी भएको सो भाइरसको संक्रमण हाल अफ्रिकाको अधिकांश मुलुक सहित हङकङर र इजरेलमा समेत देखिएपछि जोखिम बढ्ने सक्ने भन्दै पूर्व सावधानी अपनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले हाल अफ्रिकाबाट आउने सबैलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था गरिएको बताउनुभयो । अफ्रिकाबाट नेपालमा सीधा उडान नभएकाले प्रत्यक्ष जोखिम नभएपनि त्यहाँबाट अन्य मुलुक ट्रान्जिट बनाई नेपाल प्रवेश गर्नेहरुले संक्रमण सार्न सक्ने प्रवक्ता पौडेलको भनाई छ । 

साथै सीमा नाकाबाट प्रवेश गर्ने मध्ये शंकास्पद व्यक्तिको नमूना परीक्षण गरी जिन सिक्वेन्सिङलाई तीब्रता दिइने उहाँको भनाई छ । पछिल्लो समय नेपालमै नमूना परीक्षणका लागि ल्याब स्थापना भएकाले विदेशमा परीक्षणका लागि पठाउनुपर्ने झन्झट हटेको प्रवक्ता डा. पौडेलले बताउनुभयो । 

यसैबीच, कोरोना संक्रमणको पछिल्लो अवस्था र सो विरुद्धको रणनीति तय गर्नका लागि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठक भोलि आइतबार बस्ने भएको छ । 

सिंहदरवारस्थित कार्यालयमा भोलि बिहान ११ बजेका लागि बैठक तय भएको केन्द्रकी प्रवक्ता सुनिता नेपालले बताउनुभयो । बैठकमा अफ्रिकामा देखिएको ओमिकर्न भाइरसको संक्रमणबाट बच्ने उपायका बारेमा छलफल गरिने प्रवक्ता नेपालले बताउनुृभयो ।


प्रतिक्रिया