नेपाली कांग्रेस विगतदेखि वर्तमानसम्म

मंसिर २३, २०७८ | काठमाडौं

सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा भोलि शुक्रबार सुरु हुँदैछ । त्यसैको सन्दर्भ पारेर हामीले नेपाली काँग्रेसको १४ औं महाधिवेशन श्रृंखला सुरु गरेका छौं ।

१. नेपाली राष्ट्रिय कांग्रेसको रुपमा राजनीतिक यात्रा प्रारम्भ गरेको नेपाली कांग्रेसले आरोह र अवरोहका ७ दशक पार गरिसकेको छ । स्थापनकालमै २००३ सालको मजदुर आन्दोलनको नेतृत्व गरेको काँग्रेसले प्रजातन्त्र प्राप्तिका लागि मुलुकमा भएका सबै आन्दोलनको नेतृत्व गरेको छ । २००३ सालमा विराटनगरमा मजदुर आन्दोलन होस् वा राणा विरोधी २००७ सालको क्रान्ति, २०११ को सत्याग्रह, २०१४ को भद्र अवज्ञा आन्दोलन, २०३३ को जनमत संग्रह, २०४२ को सत्याग्रह अनि २०४६ को ऐतिहासिक जनआन्दोलन अनि २०६२–६३ को लोकतान्त्रिक आन्दोलनदेखि गणतन्त्र स्थापनासम्म कांग्रेसको विगत गर्विलो छ । तर, स्थापनाको ७५ वर्षे यात्रामा कांग्रेसको विगतलाई सम्झिएर मात्रै बस्नुपर्ने बेला आएको छ । गुटको द्वन्द्वले कांग्रेसले राणाकाल र पञ्चायतकालमा पनि पिरोलेको थियो । अहिले १४ औं महाधिवेशनको संघारमा पनि कांग्रेसको नियतिमा खास परिवर्तन छैन । कुन गुटको उपस्थिति कस्तो हुने भन्ने बारेको रस्साकस्सीले कांग्रेसको वैधानिक हैसियतमाथि नै प्रश्न चिन्ह खडा भएपछि बल्ल १४ औं महाधिवेशन पटकपटक घोषित र मिति परिवर्तित हुँदै अब उद्घाटनको संघारमा आइपुगेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन विशेषमा हामी यसअघि कांग्रेसले सम्पन्न गरेका १३ वटा महाधिवेशनका बारेमा चर्चा गर्नेछौँ ।

२. कांग्रेसको महाधिवेशनको इतिहास हेर्ने हो भने जिल्लामा हुने निर्वाचनबाट प्रतिनिधिहरुले सोझै सभापतिमा मतदान गर्थे । सातौं महाधिवेशनसम्म आइपुग्दा कांग्रेस यही विकेन्द्रित चुनावी अभ्यासमा थियो । त्यतिबेलासम्म कांग्रेसको सदस्यता ३ प्रकारको हुन्थ्यो । साधारण सदस्य, क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधि । २५ सदस्य बराबर एक प्रतिनिधि हुन्थे र उनीहरुले सोझै जिल्लाबाटै केन्द्रीय सभापतिका लागि भोट हाल्न सक्थे । २०४७ सालमा प्रजातन्त्र पुन:स्थापनापछि भएको पहिलो खुला अधिवेशनले कांग्रेसलाई नयाँ ढाँचाको चुनावी प्रकृयामा होमेको हो ।

३. राष्ट्रिय कांग्रेसको रुपमा पहिलो महाधिवेशन २००३ साल माघ १२ र १३ गते भारतको कलकत्ता, भवानीपुरस्थित खालसा हाइस्कूलमा सम्पन्न भयो । तत्कालीन अवस्थामा जेल जीवन बिताएका टङ्कप्रसाद आचार्य सभापतिमा र विश्वेश्वरप्रसाद कोइराला कार्यबाहक सभापतिमा निर्वाचित बनेका थिए ।

४. सुरुमा कांग्रेसको अधिवेशन हरेक वर्ष हुन्थ्यो । फलस्वरुप २००४ साल माघ २० देखि २२ गतेसम्म भारतको बनारसमै कांग्रेसको महाधिवेशन भयो । यो महाधिवेशनले हिरासतमै रहेका वीपी कोइरालालाई सभापति निर्वाचित त गर्‍यो तर, उनी रिहा नभएसम्मका लागि डा. डिल्लीरमण रेग्मीलाई कार्यबाहक सभापति तोक्यो । सभापति हुँदाहुँदै कार्यबाहक सभापति तोक्ने कांग्रेसी परम्पराको शुरुवात यहीँबाट भयो । पछि, गिरिजाप्रसाद कोइरालाले त्यसैको अनुशरण गर्दै आफू सभापति हुँदाहुँदै सुशील कोइरालालाई कार्यबाहक सभापति तोकिदिए ।

५. नेपालमा राणाविरोधी गतिविधि चलिरहेका बेला कांग्रेसको तेस्रो महाधिवेशन २००५ साल फागुन १८ गते भारत बिहारको दरभङ्गामा सम्पन्न भयो । अघिल्लो महाधिवेशनले सभापति निर्वाचित गरेपनि हिरासतै भएका कारण वीपी कोइरालाको ठाउँमा उनका दाइ मातृका कोइरालालाई कार्यबाहक अध्यक्ष बनाइयो । विश्वेश्वरप्रसाद कोइराला त्यतिबेला पनि हिरासतमै थिए ।

६. नेपाली कांग्रेसको राजनीतिक जीवनमा चौंथो महाधिवेशनले ठूलो अर्थ र प्रभाव राख्छ । नेपाली राष्ट्रिय कांग्रेस र २००४ साल साउन १ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गते कलकत्तामा एकीकरण भएसँगै एकीकृत पार्टीको नाम नेपाली कांग्रेस राखियो । दुई पार्टी एकीकरणपछि कलकत्ताको टाइगर हलमा पार्टीको चौंथो महाधिवेशनले मातृका प्रसाद कोइरालालाई सभापति छान्यो । यहि महाधिवेशनबाट नेपाली कांग्रेसले पहिलो युगान्तकारि घोषणापत्र जारी गर्‍यो ।

७. चौंथो महाधिवेशनपछि कांग्रेसजनले मुलुकभित्रै जनआन्दोलन थाले जसको बलमा २००७ सालमा प्रजातन्त्र आयो । प्रजातन्त्र स्थापनापछिको संक्रमणकालीन समय र राजनीतिले निकास नपाइन्जेल कांग्रेसको महाधिवेशन हुन सकेन । फलस्वरुप चौंथो महाधिवेशन गरेको ३ वर्षपछि नेपाली कांग्रेसले नेपाली भूमिमै पाँचौ महाधिवेशन गर्‍यो । २००९ साल जेठ १० देखि १३ गतेसम्म क्रान्तिको उपलब्धी रक्षार्थ जनचेतनाको अभियान कै क्रममा जनकपुरमा नेपाली कांग्रेसको पाँचौ महाधिवेशन सम्पन्न भएको थियो । नेपाली भूमिमा पहिलोपटक भएको सो महाधिवेशनबाट विश्वेश्वरप्रसार कोइराला सभापति चयन भए । उनले केदारमान व्यथितलाई पराजित गरेका थिए । महाधिवेशनमा भएको मतदानको असर पछि देखा पर्‍यो । सरकार सञ्चालनका क्रममा पार्टी निर्देशन नमानेको भन्दै काठमाडौंको विशालनगरमा २००९ साल साउन ८ देखि २३ सम्म चलेको पार्टीको विशेष महासमिति बैठकले प्रधानमन्त्री मातृका प्रसाद कोइराला, नारदमणि थुलुङ र महाविर शमशेर लगायतका नेतालाई कारबाही गरेपछि कांग्रेस फेरि फुट्न पुग्यो ।

८. प्रजातान्त्रिक समाजवादलाई पार्टीको सिद्धान्त मान्दै वीरगञ्जमा छैटौँ महाधिवेशन भयो । २०१२ साल माघमा भएको अधिवेशनले सुवर्णशमशेर राणालाई पार्टी सभापति चयन गर्‍यो । यो महाधिवेशन किन रोचक रहेयो भने सुवर्णशमशेरलाई वीपीको साथ थियो तर, सुवर्णको विरुद्धमा उम्मेदवारी दिएका गणेशमानलाई गिरिजाप्रसाद कोइरालाले सघाएका थिए । सुवर्ण शमशेर २ सय ३६ मत ल्याएर विजयी भए । गणेशमानले १ सय ७२ मत प्राप्त गरे ।

९. समयक्रमसँगै नेपाली कांग्रेसमा आन्तरिक बिवाद चुलिन थाल्यो । फलस्वरुप २ वर्षपछि नै २०१४ सालमा विराटनगरमा पार्टीको विशेष महाधिवेशन बोलाइयो । विराटनगरको तुलारामनगरमा बसेको विशेष महाधिवेशनले वीपी कोइरालालाई सभापतिमा, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्रीमा तथा सुवर्णशमशेरलाई कोषाध्यक्षमा मनोनयन गर्‍यो । मजदुर आन्दोलनका क्रममा कांग्रेस कार्यकर्ता तुलाराम तामाङ मारिएको स्थानलाई कांग्रेसजनले तुलारामनगर नाम दिएर सोही स्थानमा महाधिवेशन गरेका थिए । यो विशेष महाधिवेशन भएकाले यसलाई पूरकका रुपमा गणना गरिएको थियो ।

१०. सातौँ महाधिवेशन : २०१६ बैशाख २५ देखि ३१ गतेसम्म

काठमाडौंमा सम्पन्न महाधिवेशनले वीपी कोइरालालाई पुन: पार्टी सभापति बनायो । तर, २०१७ साल पुस १ गते नेपाल तरुण दलको सम्मेलन स्थलबाट प्रधानमन्त्री कोइराला, मन्त्रीहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय तथा सभामुख कृष्णप्रसाद भट्टराई गिरफ्तार भए । तत्कालीन राजा महेन्द्रले आफ्नो महत्वकांक्षामा राजनीतिक पार्टी बाधक भएको निष्कर्ष सहित ०१७ साल पुस २२ गते सबै पार्टीमाथि प्रतिबन्धको घोषणा गरे । त्यसपछि झन्डै १९ वर्षसम्म तत्कालीन राजा र दलहरुबीच टकराब चल्यो, कांग्रेसले गरेको हतियारबन्द शसस्त्र आन्दोलन हुँदै शान्तिपूर्ण आन्दोलनकै दबाबमा २०३६ सालमा जनमत संग्रह भएको थियो ।

आठौं महाधिवेशन : २०४४ साल माघ ३ गते

झापा कलवलगुडीमा सम्पन्न महाधिशेनबाट कार्यावाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भएका थिए ।

नवौँ, १० औँ र ११ औँ महाधिवेशन

२०५३ सालमा काठमाडौंमा सम्पन्न महाधिवेशन मार्फत गरिजाप्रसाद कोइरालाले कांग्रेस सभापतिको नेतृत्व पाए । २०५७ मा पोखरामा सम्पन्न १० औा महाधिवेशन र २०६२ मा ललितपुरमा सम्पन्न ११ औा महाधिवेशनमा समेत कोइराला नै पार्टी सभापति बने ।

१२ औँ महाधिवेशन : २०६७ असोज १ देखि ५ गतेसम्म

नेपाली कांग्रेसको १२ औा महाधिबेशन काठमाडौंको भृकुटीमण्डपमा २०६७, असोज १ देखि ५ गतेसम्म आयोजना भएको थियो । यो महाधिवेशन मार्फत शेरबहादुर देउवालाई पराजित गरेर सुशिल कोइराला सभापति बने ।

१३ औँ महाधिवेशन : फागुन २० देखि २३ गतेसम्म

नेपाली कांग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा सम्पन्न भएको थियो । रामचन्द्र पौडेललाई पराजित गर्दै शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि अहिलेसम्म महाधिवेशन हुन सकेको छैन ।


प्रतिक्रिया