नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु, निर्वाचन प्रक्रिया भोलिबाट

मंसिर २४, २०७८ | काठमाडौं


सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कंग्रेसको १४ औं महाधिवेशन संघीय राजधानी काठमाडौंमा शुरु भएको छ । विक्रम सम्वत् २००६ मा स्थापित भई लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनका लागि आरोह–अवरोह भोग्दै आएको कंग्रेसले नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित महाधिवेशन आयोजना गरेको हो । कंग्रेसले ‘उत्साह, एकता, रुपान्तरण: सफल बनाऔं नेपाली कांग्रेस १४ औं महाधिवेशन’ भन्ने मूल नारा तय गरेको छ ।

निर्धारित समय भन्दा ९ महिना ढिलो गरी भएको महाधिवेशनको पार्टी सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवाले आज अपरान्ह काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्नुभयो । २०७४ सालको निर्वाचनपछि संघीय संसदको दोस्रो दलमा खुम्चिएपनि तत्कालिन सत्तारुढ नेकपा र पछि एमाले विभाजनपश्चात् पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकार सञ्चालन गरिरहेका बेला कंग्रेसको महाधिवेशन भएको हो । अर्को वर्ष संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचन हुने भएकाले कंग्रेसले महाधिवेशनमार्फत् लिने नीति र चयन गर्ने नेतृत्वलाई राष्ट्रिय राजनीतिमा महत्वका साथ हेरिएको छ ।

२०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक भएको महाधिवेशनमा करिब ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी भएका छन् । पार्टीको संस्थापन पक्षबाट वर्तमान सभापति देउवाले अर्को कार्यकालका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएपनि संस्थापन इतर पक्षले अझै पनि साझा उम्मेदवार तय गर्न सकेको छैन । दुवै पक्षबाट पदाधिकारी र केन्द्रिय कार्यसमितिका उम्मेदवार समेत टुङगो लगाउन बाँकी छ ।

निर्वाचन प्रक्रिया भोलिबाट

उद्घाटनपछि बन्द सत्र आयोजना भएपश्चात् भोलि विहानबाट निर्वाचनको प्रक्रिया शुरु हुने भएको छ । निर्वाचन समितिका अनुसार भोली बिहान ८ बजेदेखि उम्मेदवारको मनोनयन दर्ता गर्ने, बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारी दर्ता उपर दाबीविरोधसहितको प्रक्रिया सञ्चालन हुनेछ । त्यस्तै भोलि बेलुकी ७ बजेदेखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय र बेलुकी ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने समय तालिका निर्धारण गरिएको छ । समितिले आइतबार बिहान ११ बजे उम्मेदवारको मनोनयन फिर्ता लिने र दिउँसो सवा १२ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तोकेको छ ।

मतदान भने सोमबार बिहान ८ बजेदेखि हुनेछ । निर्वाचन समितिले मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकेको निर्वाचन समितिले जनाएको छ । 


प्रतिक्रिया