साढे ३३ किलो सुन तस्करी प्रकरण: ‘गोल्ड डन’ गोरेका भाई रमेश पक्राउ

पुस २०, २०७८ | काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या मुद्दाका आरोपित रमेश उप्रेतीलाई पक्राउ गरेको छ । रमेश गोरे नामले चिनिने चुडामणी उप्रेतीका सहोदर भाई हुन् । 

सनम शाक्य हत्या मुद्दामा दोषी ठहर भएका गोल्ड डन गोरे हाल काठमाडौंको सुन्धारा कारागारमा छन् । उनले सुन तस्करी प्रकरणमा भने सफाई पाएका हुन् । संयुक्त अरब इमिरेट्स (यूएई) बाट काठमाडौं आएका रमेशलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । 

केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले गोरेका भाई रमेश पक्राउ परेको पुष्टि गर्दै उनलाई जिल्ला अदालत मोरङमा उपस्थित गराउन मोरङ प्रहरीको जिम्मा लगाउने तयारी भईरहेको बताउनुभयो । 

रमेशलाई फरार अभियुक्त बनाई मोरङ प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालतमा २०७५ बैशाख १९ गते मुद्दा दायर गरेको थियो । रमेशले यूएईमा बसेर नेपालमा सुनको तस्करी गरेको आरोप लागेको छ । 

पछिल्लो समय साढे ३३ किलो सुन तस्करी प्रकरण र शाक्य हत्याका अरोपित धरौटीमा रिहा हुँदै आएका छन् । सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिले गोरे समूहले यूएईबाट करीब ४ हजार किलो सुन तस्करी गरेको रहस्यो उद्घाटन गरेको थियो । 

२०७४ फागुन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको साढे ३३ किलो सुन गायब भएपछि गोरे समूहको चरम यातनापछि शाक्यको हत्या भएको थियो । शाक्य भरिया थिए । 


प्रतिक्रिया