ओमिक्रोन संक्रमणदर केही घट्दो क्रममा, जोखिम भने उच्च

माघ १४, २०७८

पछिल्लो साता ओमिक्रोन भेरियन्टको कोरोना संक्रमणदर केही घटेको सरकारी अध्ययनले देखाएको छ । यस अघि ५६ प्रतिशत पुगेको कोरोना संक्रमणदर हाल औषतमा ४० प्रतिशतमा झरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले बताउनुभयो । आरटी पीसीआर विधिबाट गरिएको परीक्षणको आधारमा ५६ प्रतिशतबाट ४० प्रतिशतमा झर्नु सकारात्मक पाटो भएपनि संक्रमण जोखिम भने अझै यथावत रहेको डा. पौडेलले बताउनुभयो । १ सय जनामा परीक्षण गर्दा ४० जनामा संक्रमण देखिने गरेको उहाँको भनाई छ ।

आरटी पीसीआर तथा आरटी एन्टीजेन परीक्षणको संयुक्त संक्रमणदर भने ५० प्रतिशत पुगेको थियो । हाल सो दर ३६ प्रतिशतमा झरेको छ । संक्रमणदर कमी हुनुको मुख्य कारण भिडभाड जन्य क्रियालपालमा गरिएको कडाई नै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दावी छ । संक्रमणको केन्द्र विन्दु रहेको काठमडौं उपत्यकामा जोर विजोर प्रणाली लागु हुनु तथा मानिसको आवागमनमा गरिएको नियन्त्रण लगायतका कारण संक्रमणदर घट्दै गएको महाशाखाका निर्देशक डा. पौडेलले बताउनुभयो । आवागमनमा गरिएको कडाईलाई अझै व्यवस्थित गरिएमा सक्रमणदर घट्दै जाने डा. पौडेलको भनाई छ ।

यसैविच, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले पनि पछिल्लो समय संक्रमणका कारण उपचारका लागि अस्पताल आउनेको संख्यामा कमी आएको बताउनुभयो । पुसको तेस्रो साता अस्पताल आउने विरामीको संख्या बढेपनि हाल सो क्रम घट्दै गएको डा. पुनको भनाई छ । संक्रमणदरमा कमी आउने क्रम बढेसंगै ओमिक्रोन संक्रमण जोखिम समेत घट्दै जाने डा. पुनको भनाई छ । 


प्रतिक्रिया